• ७ जेठ २०८१, सोमबार

माधवनारायण मेला समापन (फोटो फिचर)

blog

भक्तपुर, माघ २२ गते । माघको चिसोमा यहाँको हनुमानघाटस्थित त्रिवेणी धाममा चिसो पानीमा डुबुल्की मार्दै मनाइने माधवनारायण मेला आज (आइतबार) समापन भएको छ । व्रतहरूले मान्ने यो मेला नेपाल संवतकाे आठौँ शताब्दीदेखि एक महिने अवधिसम्म लाग्ने गरेको बताइएको छ ।

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज हनुमानघाटस्थित त्रिवेणी धाममा समापन भएको हो । साँखुको शालिनदीमा भन्दा पहिलादेखि यस मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारीले जनाएका छन् । 

नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको र यहाँ स्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको पाइन्छ । 

बर्तालुले खाली खुट्टा पैदल नै तिलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्ख दहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतीन्द्र मल्लको मूर्तिमा इन्द्र कलश चढाएर एक महिने व्रत समापन गर्ने गरिन्छ । 



तस्बिरः विकास द्वारे


Author

विकास द्वारे