• १५ चैत २०८०, बिहिबार

‘समतामूलक समाज निर्माणको आधार शिक्षा हो’

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

सिन्धुपाल्चोक, माघ २० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ। शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको छ। भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको छु।” 

सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “जुरेको पहिरो, भूकम्पपछिको पुनर्निर्माण, मेलम्चीको विनास लगायतका सबै पीडामा म तपाईहरूसँगै छु। म तपाईसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छु। आगामी दिनमा सिन्धुपाल्चोकको विकासका निम्ति म तपाईंहरुकै साथमा हुनेछ।” नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेकाले मन्त्रिपरिषद्को पहिलो बैठकबाट अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको प्रधानमन्त्रीले बताउनुभएको छ। 


प्रधानमन्त्रीले भन्नुभयो, “निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु। बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ। अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन्। अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ।”

प्रतिनिधि सभाबाट विश्वासको मत लिँदा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएकाले आफ्ना लागि ठूलो जिम्मेवारी र चुनौती रहेको उहाँले बताउनुभयो। 

यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्डद्वारा विद्यालय भवनको उद्घाटन

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन। आम जनसमुदाय र छिमेकीको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौं। नेपालको विकासमा भारत र चीन सरकारबाट महत्वपूर्ण सहयोग रहनेछ।”

शिक्षाक्षेत्रमा ठीक ढङ्गले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने उहाँको भनाइ छ। ‘‘समतामूलक समाज निर्माणको आधार शिक्षा नै हो”, प्रधानमन्त्रीले भन्नुभयो, “शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ। शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ। तसर्थ, शिक्षा नै महत्वपूर्ण क्षेत्र हो।”

कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायतले सम्बोधन गर्नुभएको छ।