• ११ मंसिर २०८१, मङ्गलबार

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित

blog

सुदूरपश्चिम प्रदेश सभा भवन । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ १९ गते । सुदूरपश्चिम प्रदेश सभा बैठकको अझै टुङ्गो लाग्न सकेको छैन । मुख्यमन्त्रीको विश्वासको मतमा दलहरुबीच सहमति हुन नसक्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको हो । 

यसअघि माघ ११ गते प्रदेश सभाको बैठक बोलाइएको थियो । तर बैठकको बिजनेस नहुँदा सो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । अहिलेसम्म प्रदेश सभाको बैठक अनिश्चित नै रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । ‘अहिलेसम्म बैठकको कुनै टुङ्गो छैन’, उहाँले भन्नुभयो, ‘सभामुख पनि मङ्गलबार मात्रै काठमाडौंबाट फर्किनुभएको छ । सायद, अब उहाँले केही पहल गर्नुहुन्छ ।’ 

अब बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनु हुनेछ । तर उहाँको विश्वासको मतबारे सत्ता साझेदार दलहरुबीच अझै सहमति भइसकेको छैन । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जिकिर गरेपछि विश्वासको मत अनिश्चित बनेको छ । संविधानले गरेको व्यवस्था बमोजिम मुख्यमन्त्रीले नियुक्त भएको एक महिना भित्रै विश्वासको मत लिनु पर्नेछ । पुस २७ गते उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । 

त्यसैले प्रदेश सभाको बैठक माघ २७ गतेभित्रै हुनेछ, तर दिनको टुङ्गो भने लाग्न नसकेको सूचना अधिकारी जैशीले बताउनुभयो । प्रदेश सभाबाट सभामुख र उपसभामुखको चयनपछि प्रदेश सदन चल्न सकेको छैन । दोस्रो कार्यकालको सुरुवाती चरणमा रहेको प्रदेश सभाले बिजनेस पाउन सकेको छैन । यसैगरी, प्रदेश सभामुखको अध्यक्षतामा गठन हुने कार्य व्यवस्था परामर्श समिति पनि अझै बनिसकेको छैन । यो समिति नहुँदा प्रदेश सभा बैठकका सवालमा गरिने विभिन्न छलफल सर्वदलीय बैठकमार्फत भइरहेको छ ।