• १२ वैशाख २०८१, बुधबार

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

blog

गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अष्ट्रेलियाका महासचिव राजु अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संँग भेटवार्ता गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौं, माघ १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अष्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार आज (बिहीबार) भएको भेटमा प्रधानमन्त्री प्रचण्डलाई महासचिव अधिकारीले नेपाली श्रमिकलाई अष्ट्रेलिया लैजाने विषयमा अवगत गराउनुभएको थियो । भेटपछि महासचिव अधिकारीले भन्नुभयो, “अष्ट्रेलियास्थित नेपाली राजदूतावासमा जनशक्ति कम हुँदा नेपालीहरूले समस्या भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएँ । प्रधानमन्त्रीले समस्या समाधानमा पहल गर्छु भन्नुभएको छ ।”

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल तथा नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोकसँग पनि महासचिव अधिकारीले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । भेटमा महासचिव अधिकारीले महासङ्घले उठाएका विभिन्न विषयमा उहाँहरूलाई जानकारी गराउनुभएको थियो ।

भेटमा महासचिव अधिकारीले अर्धदक्ष श्रमिक अष्ट्रेलिया लैजाने विषयमा प्रक्रिया अघि बढाउँदा उपयुक्त हुने सुझाव दिनुभएको थियो । अष्ट्रेलियामा रहेका केही नेपाली विद्यार्थीहरूमा मनोवैज्ञानिक समस्या देखिएको भन्दै समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

भेटमा नेपालमा अष्ट्रेलियाबाट पर्यटक ल्याउने विषयमा पनि छलफल भएको थियो । सन् २०२२ मा अष्ट्रेलियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएका छन् । साथै थप पर्यटक भित्र्याउनका लागि महासङ्घले पहल गरिराखेको जनाइएको छ ।