हो, म जुम्ली हुँ
म जुम्लाको नागरिक
म जुम्ली हुनुको गर्व
म जुम्ली हुनुको स्वाभिमान
सगरमाथाभन्दा अग्लो लाग्छ मलाई
उहिल्यैदेखि हो
म असहमत छु काठमाडौँसँग
निरन्तर घाम र जूनसँगै
मेरा विमतिका पैयाहरू कति गुडेगुडे
काठमाडौँले कोट्याएको
मेची–काली राजमार्गमा
परन्तु बाटो खिइयो
म खिइनँ ।
सन् १८१६ मा
काठमाडौँले बिर्सेको नेपाल
मैले नै आर्जेको हुँ
देउथलको लडाइँमा
पटुकामा आन्द्रा पोको पारेर
युद्ध लड्ने भक्ति थापा
नालापानीमा भोक र तिर्खा नभनी
शत्रुको सातो लिने बलभद्र कुँवर
‘बाघको डमरू हुँ
मलाई सिनो खाने कुकुर नसम्झ’
हुङ्कार दिने अमरसिंह थापा
मेरै पुर्खाका दिव्य आलोक हुन् ।
अदम्य साहस छ मसँग
बेजोड तर्क छ मसँग
उच्च नैतिकता छ मसँग
हो, म जुम्ली हुँ
म जुम्लाको नागरिक ।
एक फोगटो सभ्यता रोपेर
दुनियाँलाई विजन बाड्ने मै हँु
एक आउत संस्कृति फुलाएर
मै हुँ जगतलाई
सुगन्ध सुघाउने
आदिम र आर्य बस्ती बीचमा
फुटाएर नेपाली भाषाको साझा मूल
कर्णाली,
ब्रह्मपुत्र,
सतलज,
सिन्धु बगाउने पनि मै हुँ ।
हो, म जुम्ली हुँ
म जुम्लाको नागरिक ।
हो, तिमीले मलाई
मात्र जुम्लाको जुम्ली ठान्यौ भने
अपमान तिम्रो नै हुनेछ
स्वाभिमान तिम्रो नै गिर्नेछ
पहिचान तिम्रो नै मेटिनेछ
मैले गाउँने गीत
शान्तिभन्दा अर्को स्वर हुने छैन
मैले सुन्ने धुन
एकताभन्दा भिन्न हुँदैन
तिम्रो बासुरीले शङ्घोष गरोस्
अर्को युद्धको
म त्यही युद्धभित्रको
एक टुक्रा सदाचार टिप्न लालायित छु ।
एक फाको स्वाधीनता
पोल्टामा सँगालेर
युगाँै बाच्ने कसम खाएको म
आफ्नै ओठमा हिमाल देख्छु
आफ्नै निधारमा तराई सुम्सुम्याउँछु
आफ्नै काधमा पहाड बिसाउँछु ।
हो, म जुम्ली
म जुम्लाको नागरिक ।
‘कइथरो छ तम्रो नेपाल यही जुनीमा
हेन्न पाइन्यानाई’
मैले भनिरहँदा
तिमी खितित्त हाँसेको
गहिरो सम्झना छ मलाई
त्यतिबेला–
तिमीले ख्याल राख्यौ या राखेनौँ
तर मैले
कुनै प्रतिक्रिया जनाइन
कुनै अपमान बोध पनि गरिन
किनकि,
तिमी पनि जुम्ली नै थयौ
जुम्लाको आदिम नागरिक ।
कालीकोट ।