• १६ कात्तिक २०८१, शुक्रबार

ओझेलमा कपिलवस्तु सङ्ग्रहालय

blog

नारद कोहार

तौलिहवा, माघ १९ गते । विगत १२५ वर्षदेखि विभिन्न पुरातत्वविद्ले प्राचीन नगरको अन्वेषणका क्रममा प्राप्त गरेका धेरै वस्तु कपिलवस्तु सङ्ग्रहालयमा सङ्कलन गरी राखिए पनि यो सङ्ग्रहालय पर्याप्त प्रचारप्रसार र पूर्वधार अभावका कारण ओझेलमा पर्दै गएको छ। 

सङ्ग्रहालयबारे स्वदेश तथा विदेशबाट भ्रमण गर्न आउने पर्यटकलाई जानकारी नहुँदा सङ्ग्रहालय ओझेलमा पर्दै आएको भनाइ सम्बद्ध अधिकारीको छ।

प्राचीन कपिलवस्तु एवं राजा शुद्धोधनको राजदरबारमा बुद्धले २९ वर्ष बिताएको ठाउँ तिलौराकोटमा बर्सेनि ४० देखि ५० हजारको हाराहारीमा पर्यटकले भ्रमण गर्ने गर्छन् तर छेउमै रहेको सङ्ग्रहालयमा भने थोरै सङ्ख्यामा मात्र जाने गरेका छन्। अधिकांश तिलौराकोट आउने पर्यटक भारतीय पथप्रदर्शक लिएर आएको र उनीहरू सङ्ग्रहालयबारे पर्याप्त जानकारी नदिँदा ओझेलमा पर्दै गाएको पथप्रदर्शक राजकुमार यादवले बताउनुभयो। उहाँले भन्नुभयो, “जबसम्म हाम्रो सम्पदा क्षेत्रको भ्रमण गर्न आउने पर्यटकलाई भारतीय पथप्रदर्शकलाई रोक लगाइँदैन तबसम्म समस्या त्यस्तै रहने बताउनुभयो।”

सन् २०२२ को एक वर्षभित्र सङ्ग्रहालयमा आन्तरिक र बाह्य गरी कुल छ हजार ७२९ पर्यटकले अवलोकन गरेको सङ्ग्रहालयकी प्रमुख शान्ति शेर्माले बताउनुभयो। तीमध्ये नेपाली तीन हजार ६३, सार्क मुलुकका ५२८, सार्कबाहेकका तेस्रो मुलुकका ८२ र विद्यार्थी तीन हजार २५ ले सङ्ग्रहालयमा अवलोकन गरेका छन्। 

सन् २०२२ मा कुल एक लाख चार हजार चार सय राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो। सन् २०२१ मा भने कुल छ हजार ९२८ जनाले अवलोकन गरेका थिए। तिलौराकोटमा आउने पर्यटकमध्ये न्यून मात्र सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका प्रमुख शेर्माले बताउनुभयो। अधिकांश विदेशी पर्यटक भारत हुँदै रुपन्देहीको बेलहिया नाकाबाट लुम्बिनी हुँदै सिधा तिलौराकोट आउने गरेकाले त्यसको प्रत्यक्ष असर सङ्ग्रहालयलाई परेको उहाँको भनाइ छ।

तिलौराकोटमा भएको उत्खनन र सञ्चारमाध्यमले त्यसबारे निकालेको समाचारले सङ्ग्रहालयमा विगतको तुलनामा पर्यटकको सङ्ख्या केही बढेको उहाँले बताउनुभयो। 

सात बिघा क्षेत्रफल रहेको यो सङ्ग्रहालयमा ईसापूर्व आठौँ, छैटौँ शताब्दीको मौर्यकालीन तेस्रो शताब्दीको सुङ्गाकालीन कुषाणकालीन समयका माटा भाँडा, चाँदीका सिक्कालगायतका विभिन्न महìवपूर्ण सामग्री प्रदर्शनमा राखिएका छन्।