राममणि दाहाल
हेटौँडा, माघ १९ गते । प्रदेश र सङ्घीय शासन प्रणालीप्रति पछिल्लो समय देखिएको असन्तुष्टिको सम्बोधन हुने र नागरिकले परिवर्तनको अनुभूति गर्ने गरी प्रदेशले काम गर्नुपर्नेमा जोड दिइएको छ।
बागमती प्रदेश सभाको पाँचौँ वार्षिकोत्सवका अवसरमा बागमती प्रदेश सभा सचिवालयले बुधबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा नागरिकको ठूलो लगानी र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलगायतका उपलब्धिको रक्षा आवश्यक भएको भन्दै यसका लागि प्रदेश सभा सदस्यलाई दायित्व बोध र इमानदारितापूर्वक लाग्न आग्रह गरिएको हो।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाले शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणलाई आत्मसात गर्दै लोकतान्त्रिक शासन व्यवस्थालाई अझ बढी सबल, सक्षम र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेप्रति आफू विश्वस्त रहेको बताउनुभयो।
प्रदेश सभाको दोस्रो निर्वाचनको परिणामपश्चात् नयाँ ऊर्जा र आकाङ्क्षासहितको नयाँ सरकारमा फराकिलो जनप्रतिनिधित्व र बृहत् समर्थन रहेको भन्दै उहाँले भन्नुभयो, “यो अवसरलाई केबल सत्ताका लागि सरकार ठानिने पराम्परा तोड्दै जनताका लागि सरकारको अवधारणालाई प्रबलीकरण गर्ने मौकाका रूपमा उपयोग गर्न सक्नुपर्छ। विगतको शिक्षा र वर्तमानको अभ्यासले आगतको खाका तयार पार्ने हो। समयले सरकार र सदनको काँधमा यो दायित्व बोकाएको छ।”
प्रदेश प्रमुख शर्माले विप्रेषणलाई उत्पादनसँग जोड्न, प्रदेशस्तरीय उत्पादन अभिवृद्धि गर्न र सरकारी खर्चको न्यूनीकरण गर्न, अत्यधिक सुविधा भोगी मनोग्रन्थीको शल्यक्रिया गरी सादा जीवन र उच्च विचारको जीवनशैली अङ्गीकार गरी नमुनायोग्य कार्य गर्न अत्यावश्यक भएको बताउनुभयो। सरल, सुलभ र शीघ्र सेवा प्रदान गर्ने कार्य–प्रणाली सञ्चालन गर्न र राज्यकोषबाट हुने लगानीको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धन गर्न नियम कानुन निर्माण हुन अत्यावश्यक भएको उहाँको धारणा थियो।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाको मूल भूमिका कानुन र सरकार निर्माण भएको चर्चा गर्दै प्रदेश सभा सञ्चालनमा प्रदेश सभा सदस्य मर्यादित, जिम्मेवार र लगनशील हुनुपर्ने औँल्याउनुभयो।
“प्रदेश राजधानीमा प्रदेशको प्रशासनिक भवन छैन, भवन निर्माण गर्न जग्गा प्राप्ति भएको छैन,” उहाँले भन्नुभयो, “जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाइएको छ। अहिलेको टुक्रे विकासको मोडलबाट परिणाम नआउने र नदेखिने भएकाले ठूला योजनामा लगानी गर्नुको विकल्प छैन।”
हालसम्म प्रदेश सरकारबाट ठूला आयोजनामा लगानी नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “झमेला हुन्छ भनेर, चुनौती हुन्छ, चुनौती किन मोल्ने भन्ने छ,” मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “प्रदेशमाथि भइरहेको अनावश्यक टीका टिप्पणीको अवस्था अन्त्य गर्न बहुवर्षीय योजनाको समीक्षा, परिणाममुखी योजनाको कार्यान्वयन र व्यक्तिलाई अनुदान दिने होइन समुदायमा लगानी गर्नु आवश्यक छ।”
बागमती प्रदेशका प्रदेश सभामुख भुवनकुमार पाठकले नागरिकले अनुभूति गर्ने गरी काम गर्नु प्रदेशको विशेष दायित्व भएको भन्दै तटस्थता, निष्पक्षता र पारदर्शिताप्रति प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो। उहाँले प्रदेश सभाको मिनी संसद्का रूपमा रहेका समितिको भूमिकालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउँदै राजनीतिमा देखिएको विकृति र विसङ्गतिको अन्त्य आवश्यक भएको बताउनुभयो। प्रदेश सभाका पूर्वप्रदेश सभामुख सानुकुमार श्रेष्ठले पहिलो कार्यकालको अनुभव सुनाउँदै प्रदेश सभा सदस्यमा प्रदेश सभा बैठकमा आएपछि जान हतार हुने, अध्ययन र लगनशीलताको समस्या रहेको बताउनुभयो।
“हामी सुशासनको कुरा गर्छौं, सुशासन प्रदेश सभा सचिवालयबाटै सुरु हुनुपर्छ र प्रदेश सभाका सदस्यको मूल दायित्व कानुन निर्माण हो,” उहाँले भन्नुभयो, “प्रदेश सभाका सदस्य पाँच लाखको योजनाका लागि प्रदेश मन्त्रालयको ढोका–ढोकामा धाउने प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ।”
कार्यक्रममा प्रदेश उपसभामुख अप्सरा चापागाईं, प्रदेश सभाका प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङ र बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा कर्मचारी अभावमा कार्यसम्पादनमा समस्या भएकाले यो अवस्थाको अन्त्य आवश्यक भएको भन्दै टुक्रे र वितरणमुखी योजना निर्माणलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा बागमती प्रदेश सभाको पहिलो कार्यकालको सुरुवातीमा प्रदेश सभा सञ्चालनमा महìवपूर्ण भूमिका निर्वाह गर्नु हुने सङ्घीय संसद्का उपसचिव अधिराज राई र प्रदेश सभा सचिवालयमा रहेर कार्यसम्पादनमा महत्वपूर्ण योगदान पु-याउने कर्मचारीलाई सम्मान गरिएको थियो।