• १५ चैत २०८०, बिहिबार

दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण

blog

त्रिशूली, माघ   १६ गते । नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । 

आइतबारदेखि थालिएको सो शिविरमा जिल्ला सदरमुकाम विदुरको सडक हुँदै आउजाउ गर्ने विशेष गरेर यात्रुवाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित औषधि उपलब्ध गराइएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मिलनकुमार सिंहले जानकारी दिनुभयो । उहाँको अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न लागी चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर चिकित्सकको पुर्जीअनुसार उनीहरूलाई अत्यावश्यक औषधि निःशुल्क वितरण थालिएको हो ।

“सवारी दुर्घटनाको कारणमध्ये चालकको लापरबाहीमा उसको स्वास्थ्य अवस्था प्रमुख समस्या पाइएपछि शिविर सञ्चालनमा ल्याइएको हो ।” उहाँले भन्नुभयो, “परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले चालक–सहचालककाे आँखा, रक्तचापलगायतको अवस्थालाई प्राथमिकता दिएर परीक्षण गराउन थालिएको छ ।”

ट्राफिक प्रहरीले यसअघि ‘चालकसँग दुई मिनेट’ कार्यक्रममार्फत यात्रामा रहेका चालकलाई रोकेर ट्राफिक नियम तथा जनचेतना जगाउँदै आइरहेको थियो । उक्त कार्यक्रम प्रभावकारी भए पनि चालकले गाडी रोकर बस्न बाध्य बनाएकोजस्तो प्रतिक्रिया देखाएपछि उक्त अभियानलाई समेत सहयोग पु¥याउने उद्देश्यले परिष्कृत स्वरूपमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो ।

यात्रुवाहक सवारी साधनको चालक र सहचालकले यात्रुलाई सेवा पु¥याउने क्रममा आफ्नो घरमा समेत पुग्न नसक्ने, स्वास्थ्य जाँच गराउन समय दिन नसक्ने तथा स्वास्थ्य समस्या देखिए पनि गाडी चलाएर आउजाउ गर्दा बाँस स्थान परिवर्तनले नियमित औषधि सेवन गर्न नपाएको समस्यालाई समेत शिविरबाट लाभ पुग्ने प्रहरीले जनाएको छ ।

पछिल्लो एक महिनादेखि सबै किसिमका सवारी साधनको पाटपुर्जाको अवस्था जाँच सुरु गरेको ट्राफिक प्रहरीले आइतबारदेखि सुरु गरेको चालकको स्वास्थ्य परीक्षण शिविरलाई नियमितरुपमा अघि बढाउँदै लैजाने जनाएको छ । स्वास्थ्य परीक्षणको लागि सापकोटा मेडिकल हल तथा पोलिक्लिनिक बट्टारले स्वास्थ्यकर्मी र आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको छ ।

शिविरमार्फत चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित उनीहरूलाई ट्राफिक नियमसम्बन्धीको जानकारी गराउने र सोही समयमा सवारी साधनको पाटपुर्जासमेत जाँच गरिने ट्राफिक प्रहरी प्रमुख सिंहले बताउनुभयो । शिविरमार्फत चालक तथा सहचालकलाई केही समय आराम गरेर मानसिकरुपमा तन्दुरुस्ती बनाउन र ट्राफिक प्रहरीसँगको सहकार्य बढाउनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।