• ६ कात्तिक २०८१, मङ्गलबार

पुस्तौँको प्रतीक्षापछि सङ्करपोखरीमा खानेपानी

blog

पर्वतको फलेवास नगरपालिका –३ शंकरपोखरीमा आकाशे पानी संकलनका लागि बनाइएको ट्याङ्की । तस्बिरः गणेश पौडेल

गणेश पौडेल

पर्वत, माघ १५ गते । पुस्तौँदेखि खानेपानीको लागि कष्ट भोग्दैआएका पर्वतको फलेवास नगरपालिका –३ सङ्करपोखरीका बासिन्दाको खानेपानी समस्या अहिले आएर पूरा हुनेभएको छ । गाउँमा खानेपानीको स्रोत नहुँदा गाउँभन्दा तल रहेको लमाय खोलाको पानी लिफ्ट प्रणालीबाट गाउँमा लगिएपछि खानेपानीको समस्या समाधान भएको हो । 

लमाय खोलाबाट करिब १७ सय मिटर उचाइमाथि लिफ्टिङ गरी मैदानस्थित लिमिकोटमा पानी पुर्‍याइएको आयोजनाका सचिव कमल भुसालले जानकारी दिनुभयो । यसरी ल्याइएको पानी फलेवासको २ र ३ नम्बर वडाका १३ सय ४१ घरधुरीमा वितरण गरिने उहाँले जानकारी दिनुभयो । 

गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको सहयोगमा उक्त आयोजना सञ्चालन भएको हो । आयोजनाको ट्याङकी निर्माण, विद्युतीकरण, मुख्य पाइपलाइन बिस्तार लगायतको काम पुरा भइसकेको र वितरण पाइप जडान पछि घर–घरमा खानेपानी वितरण गरिने सचिव भुसालले जानकारी दिनुभयो । 

उपभोक्ता समितिका अनुसार आयोजनाको परीक्षण सफल भइसकेकाले पहिलो चरणमा पुरानो खानेपानी आयोजनाको लाइनमार्फत वितरण गरिनेछ । आयोजनाको मुख्य काम सकिए पनि घरघरै पाइपलाइन बिस्तार गरी उपभोक्तामा विद्युत मिटरसहितको धारा जडान गर्न अझै केही समय लाग्ने भुसालले बताउनुभयो ।

आर्थिक वर्ष २०७५–७६ देखि सुरु भएको आयोजनाको १८ करोड ८८ लाख ८५ हजार रुपियाँ लागत स्टिमेट गरिएको छ । आयोजनाबाट पाँच हजार ७२ उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गतको इकाई कार्यालय कुश्माका प्रमुख इन्जिनियर शिवकुमार शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार हालसम्म चार करोड तीन लाख रुपियाँ मात्र खर्च भएको छ । आयोजनाको भौतिक प्रगति धेरै भए पनि मन्त्रालयले पर्याप्त बजेट विनियोजन नगर्दा वित्तीय प्रगति २१.३४ प्रतिशत मात्रै भएको कार्यालयले जनाएको छ । बाँकी काम गर्न बजेट अभाव भएको इन्जिनियर शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार धेरै जनसङ्ख्या लाभान्वित आयोजना भएकाले प्रदेश सरकारले समेत विशेष महत्त्वका साथ हेरेको र आवश्यक बजेट समयमै विनियोजन गर्ने प्रतिबद्धता आएकाले छिटो काम सम्पन्न गर्नेगरी बजेट विनियोजन हुने गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले बताउनुभयो । 

उहाँले आयोजनाको काम छिटो सक्नेगरी कार्यविधिले मिल्नेसम्म बजेट थप गर्ने प्रतिबद्धता जनाउनुभयो । संवैधानिक अधिकारभित्रै पर्ने स्वच्छ खानेपानीको पहुँच आम सर्वसाधारणसम्म पुर्‍याउन मन्त्रालयले समेत सक्दो सहयोग गर्ने बताउनुभयो । मन्त्रालयले २०७५ फागुनमा लमाय खोला लिफ्ट खानेपानी आयोजना सुरु गरेको थियो । बजेट अभावका कारण उक्त आयोजनाको पानी बस्तीसम्म ल्याउन समस्या परेको थियो । 

आयोजनामा आवश्यक पर्ने विद्युत ल्याउन विद्युत प्राधिकरण लगायतका विभिन्न निकायसँग समन्वय र सहकार्य गरी काम अघि बढाउनुपर्ने भएकाले आयोजनाको काम केही ढिलाइ भएको उपभोक्ता समितिले जनाएको छ । लमाय खोलाको पानी मैदानमा ल्याएर घरघरै वितरण हुने भएपछि पुस्तौँदेखिको समस्या सहज हुने भन्दै उपभोक्ताहरू खुसी भएका छन् । 

सङ्करपोखरीको डाँडामा पानीको समस्याका कारण यहाँका स्थानीयहरू १ घण्टा लगाएर एक गाग्री पानी बोक्न बाध्य थिए । खानेपानी समस्या समाधानका लागि डहरे लेकबाट पनि पानी ल्याएको भए पनि दिगो रूपमा सञ्चालन हुन नसक्दा आकाशे पानीको भरमा बस्नुपरेको स्थानीय चित्राकुमारी क्षेत्रीले बताउनुभयो ।