काठमाडौं, माघ १४ गते। पूर्व सभामुख दमननाथ ढुङ्गानाले संविधान कार्यान्ववन भए/नभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताउनुभएको छ। शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै संविधानको पूर्ण रुपमा संविधान कार्यान्ववन भए/नभएको हेर्ने छुट्टै निकाय बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको बताउनुभयो। उहाँले तत्कालको लागि सोचेर कोही मानिसलाई मन्त्री हुनबाट वा अन्य प्रयोजनका लागि रोक्न संविधान बन्ने गरेकोप्रति दुःख व्यक्त गर्नुभयो। पूर्व सभामुख ढुङ्गानाले अहिलेको संविधान कसैलाई पनि नबाँध्ने किसिमको भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘संविधान युगौंयुगको लागि बनाइने हो। तर हामीलाई तत्कालको बेलामा एउटा सदस्यलाई मन्त्री बन्नबाट रोक्नको लागि बनाएका छौं। संविधानमा दूरदृष्टि हुनुपर्छ, त्यो हाम्रोमा भइरहेको छैन, हामीले तत्कालीक कुरालाई रोक्नका लागि संविधान बनाएका छौँ। सबैलाई बाँध्नका लागि संविधान बनाउँदा कसैलाई पनि नबाँधिने संविधान भएको छ, अहिले संविधानले कसैलाई बाँधेको छैन। संविधानको कार्यान्वयन हेर्न एउटा उच्च निकाय बनाउन आवश्यक छ।’
पूर्व सभामुख ढुङ्गानाले सबैलाई बाँध्नका लागि बनाएको संविधान कसैलाई पनि नबाँध्ने किसिमको भएको उल्लेख गर्नुभयो।