• १३ वैशाख २०८१, बिहिबार

स्वदेशी कुखुराको बिक्री बढ्यो

blog

फाइल तस्बिर

सिराज खान 

नेपालगञ्ज, माघ १४ गते । सरकारले सीमामा हुने तस्करी रोक्न केन्द्रबाटै कडा निर्देशन दिएलगत्तै बाँकेमा भारतबाट कुखुराको अवैध आयात घट्दैगएको छ । पोल्ट्री व्यवसायी सङ्घ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीका अनुसार केही दिन यता बाँकेमा उत्पादन गरिएका कुखुराको खपत बढ्दै गएकाले भारतबाट कुखुराको अवैध आयातमा कमी आएको व्यवसायीको भनाइ छ ।  

यसअघि दैनिक ६० क्विन्टलसम्म भारतबाट अवैध रूपमा कुखुरा भित्रिने गरेकाले स्थानीय कुखुरापालन व्यवसाय धराशायी बनेको थियो । हाल केही सुधारको लक्षण देखापरेको सुवेदीले बताउनुभयो ।  

पोल्ट्री व्यवसायी सङ्घ बाँकेका अनुसार विगत लामो समयदेखि कुखुराको अवैध आयात रोक्न पटक पटक स्थानीय प्रशासन र प्रहरीको ध्यानाकर्षण गराउँदै आएको थियो । बर्डफ्लु लगायत पन्छीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ । 

भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमाभन्दा सस्तो रहेकाले मुनाफाका लागि भारतीय कुखुरालाई तस्करी गरेर नेपाली बजारमा पुर्‍याउने गरिएको छ । अहिले केही समय यता स्थानीय कुखुराको बिक्री बढेको नेपालगञ्ज परसपुरका कुखरापालक व्यवसायी निजामुद्दीन ईद्रिसीले बताउनुभयो ।

सोही प्रकारको प्रतिक्रिया अर्का कुखुरापालक किसान मुनेजर खाँले पनि दिनुभयो । उहाँले अहिले केही दिन यता स्थानीय उत्पादनमा माग बढ्दै गएकोले आफूहरूमा आशा पलाएको बताउनुभयो । 

मुख्य नाका लगायत ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक ठूलो मात्रामा भारतबाट कुखुरा नेपाल आउनेगरेको र त्यसको असरले स्थानीय व्यवसायीको व्यवसाय धरापमा परेकोमा अहिले केही राहातको सङ्केत देखिएको अधिकांश व्यवसायीको भनाइ छ ।  

सबैभन्दा बढी बाँकेको जानकी गाउँपालिका १ साइगाउँ र खजुरा गाउँपालिकाको वडा नम्बर १ राधापुर क्षेत्रबाट कुखुरा र चल्ला तस्करी हुनेगरेको व्यवसायीहरूको दाबी छ । सीमापारिबाट ल्याइएका कुखुरालाई नेपालकै उत्पादन भन्दै नेपालगञ्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशका जुम्ला, डोल्पा र हुम्लालगायतका जिल्लामा समेत पुर्‍याउने गरिएको पोल्ट्री व्यवसायी सङ्घ बाँकेले जनाएको छ । 

स्थानीय प्रहरी प्रशासनले पनि केही समय यता आएर अवैध कुखुरा आयात लगायतमा निकै कडाइ गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले त्यस्ता अवैध आयातलाई शून्यमा झार्ने गरी काम गरिरहेको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताउनुभयो ।