• १३ असोज २०८१, आइतबार

भारतीय वायुसेनाको दुई फाइटर विमान दुर्घटना

blog

काठमाडौं, माघ १४ गते । भारतको राजस्थानस्थित भरतपुरमा सेनाको दुई वटा लडाकु विमान आज दुर्घटना भएको छ । त्यहाँस्थित उच्चैन थाना इलाकाको पिंगोरा रेल्वे स्टेसन नजिक शनिबार बिहान साढे १० बजे विमान दुर्घटना भएको हो । 

भारतीय सेनाको सो विमान आज बिहान उत्तर प्रदेशको आगरा वायुसेना स्टेसनबाट उडान भरेको बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनालगत्तै त्यहाँ भारतीय प्रहरी र स्थानीय पुगे पनि विमान दुर्घटनापछि पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । 

बस्तीनजिक जङ्गल क्षेत्रमा विमान दुर्घटना भए पनि त्यहाँ केहीबेर नागरिकको भागदौड मच्चिएको थियो । विमानका क्षतिग्रस्त टुक्रा यत्रतत्र फैलिएको छ । सेनाको विमानमा के कति मानिस सवार थिए भन्ने यकिन भएको छैन । यद्यपि केही भारतीय सञ्चारमाध्यमले एक विमानका चालकको मृत्यु भएको छ र अर्को विमानका चालक सुरक्षित रहेको दाबी गरेका छन् । 


फाइटर विमान दुर्घटना भएको समाचार बाहिर आए पनि भारतीय रक्षा विभागको तर्फबाट आधिकारिक जानकारी आइसकेको छैन । डिफेन्स पीआरओ कर्नल अमिताव शर्माले सो बारे अझै जाँचबुझ जारी रहेकाले आधिकारिक सूचना बाहिर नआएको भारतीय सञ्चारमाध्यमलाई जानकारी गराउनुभयो । 

एयरफोर्सको दुवै विमान सुखाई ३० र मिराज २००० दुर्घटना भएको सञ्चारमाध्यमले जनाएका छन् । दुवै विमान मध्यप्रदेशको सो ठाउँमा सेनाको अभ्यास चलिरहेको थियो । दुवै विमान एकअर्कासँग ठक्कर खाएपछि दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विमान दुर्घटनाबारेमा जाँच गर्न वायुसेनाले जाँचका लागि कोर्ट अफ इन्क्वाइरीको आदेश दिएको छ ।

बस्ती नजिक जङ्गल क्षेत्रमा भएको दुर्घटना भएको विमानमा चालक दलका कति जना सदस्य सवार थिए भन्ने कुरा अझै खुल्न नसकेको सञ्चार माध्यमले जनाएका छन् । स्थानीय नागरिकको भनाइ अनुसार विमान टकराएपछि माथि आकाशमै आगो लागेको थियो । दुर्घटना भएको खबर पाउने बित्तिकै त्यहाँ प्रहरी र चिकित्सकको ठूलो टोली पुगेको थियो । उद्धारका लागि ग्वालिएरको महाराजपुरको एयरबेस सेन्टरमा दर्जन जति हेलिकप्टर गएका थिए । 



विमान दुर्घटनाको मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पुष्टि गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा ट्वीट गर्दै दुर्घटनाको पुष्टि गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, “मुरैनाको कैलारस नजिक वायु सेवाको सुखोइ ३० र मिराज २००० विमान दुर्घटनाग्रस्त भएको खबर अत्यन्त दुःखद छ । विमानका चालकको सुरक्षित होऊन ईश्वरसँग प्रार्थना गर्दछु ।”


(लक्की चौधरी, भारतीय सञ्चारमाध्यमको सहयोगमा ।)