• १२ मंसिर २०८१, बुधबार

अन्नपूर्णले तिरेन किसानको रकम

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ १४ गते । सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले उखु क्रसिङ सुरु गरेको छ । बेलैमा किसानबाट किनेको उखुको पैसा तिर्न नसक्दा बदनामी कमाएको यो उद्योगले माघ मध्यतिर आएर उखु पेल्न सुरु गरेको हो । यो उद्योग स्थापना कालदेखि नै नियमित सञ्चालन हुन सकेको छैन । गत साल उद्योग थोरै उखु क्रसिङ गरेर बन्द भएको थियो । 

धनकौल चिनी मिलबाट अझै पनि आफूहरूले पुरानो भुक्तानी नै लिन बाँकी रहेको किसानले गुनासो गरेका छन् । धनकौलकै उखु किसान रामकल्याण यादवले उद्योगसँग आफूले मात्रै पाँच लाख रुपियाँ पुरानो बक्यौता लिन बाँकी नै रहेको गुनासो गर्नुभयो । अन्य किसानले पनि पोहोर/परार नै उद्योगलाई बेचेको उखुको पैसा पाएका छैनन् । 

भुक्तानी माग्न जाँदा उद्योगले भोलिभोलि भन्दै आलटाल गरिरहेको उखु किसानले गुनासो गरेका छन् । उद्योगसँग किसानको भुक्तानीका लागि पहल गर्दा उद्योगका सञ्चालक प्रशासनको सम्पर्कबाट पनि टाढै रहने गरेका छन् । इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह गोडैता करिब एक महिना अघिदेखि नै सञ्चालनमा रहेका छन् ।