• १२ मंसिर २०८१, बुधबार

लहरेआँपको जुस बनाउन प्रशोधन केन्द्र

blog

रामेछाप समाचारदाता 

रामेछाप, माघ १४ गते । रामेछापको खाँडादेवी गाउँपालिका–३, भीरपानीस्थित सित्खामा लहरेआँप प्रशोधन केन्द्र निर्माण गरिएको छ । लहरेआँप उत्पादन राम्रो हुन थालेपछि कृषि ज्ञान केन्द्र रामेछाप र खाँडादेवी गाउँपालिकाले ३० लाख रुपियाँको लगानीमा प्रशोधन केन्द्र निर्माण गरेको हो । 

सित्खाका स्थानीय राजेश कार्की र सम्बरबहादुर माझीले विगत छ वर्षदेखि लहरेआँप खेती गरिरहनुभएको छ । कार्की र माझी दुई भाइले १४ रोपनी जमिनमा उत्पादन गरेको लहरेआँप काठमाडौँमा गाडीभाडाबाहेक नै दुई सयदेखि २५० रुपियाँसम्ममा बिक्री हुने गरेको छ । लहरेआँपबाट यो वर्ष १० लाख रुपियाँ बढी आम्दानी गर्ने दुई भाइको अनुमान छ । छ वर्षअघि पाँच रोपनी जमिनमा नमुनाका रूपमा लहरेआँप लगाउनुभएका दुई भाइले आम्दानी राम्रो हुन थालेपछि अहिले १४ रोपनी जमिनमा खेती विस्तार गर्नुभएको छ । 

अहिले आँपको उत्पादन बढ्न थालेपछि विभिन्न निकायको सहयोगमा ३० लाख रुपियाँको लगानीमा लहरेआँप खेती क्षेत्र विस्तार र प्रशोधन केन्द्र निर्माण गरिएको सम्बरबहादुर माझीले बताउनुभयो । “लहरेआँप उत्पादन र बजार दुवै राम्रो छ तर यो आँपलाई दाना सँगसँगै जुसलाई पनि बजार पु¥याउने उद्देश्यले प्रशोधन केन्द्र निर्माण गरिएको हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार भीरपानीस्थित सित्खा बजार नजिकै तीन रोपनी जमिनमा कृषि ज्ञान केन्द्र मन्थलीको १५ लाख, खाँडादेवी गाउँपालिकाको सात लाख ५० हजार, साझेदारी संस्था एकीकृत लहरेआँप तथा कृषि फार्मको सात लाख ५० हजार रुपियाँमा प्रशोधन केन्द्र बनाइएको छ । बजारमा लहरेआँपको दानाभन्दा पनि जुसको माग राम्रो आउन थालेकाले निकट भविष्यमा धेरैभन्दा धेरै लहरेआँपको जुस उत्पादन गर्ने उद्देश्यले प्रशोधन केन्द्र निर्माण गरिएको अर्का कृषक राजेश कार्कीले बताउनुभयो । 

खाँडादेवी गाउँपालिका–३, भीरपानी सित्खामा छ वर्षदेखि लहरेआँप खेती भइरहेको र उत्पादन पनि राम्रो देखिएकाले किसानको मागअनुसार कृषि ज्ञान केन्द्रले लहरेआँपको जुस बनाउने प्रशोधन केन्द्र बनाउनका लागि सहयोग गरेको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “लहरेआँपको मौसममा त्यसको र अन्य समयमा जुनार, बेल र कागतीलगायतको जुस पनि उत्पादन गर्ने उद्देश्य हो ।”

खाँडादेवी गाउँपालिका, साझेदार संस्था र कृषि ज्ञान केन्द्रको सहयोगमा प्रशोधन केन्द्र निर्माण भएको डेढ वर्ष भइसके पनि पूर्ण रूपमा सञ्चालन हुन भने नसकेको उहाँको भनाइ छ । “प्रशोधन केन्द्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सित्खा क्षेत्रका अन्य ठाउँमा पनि लहरेआँप खेती विस्तारका लागि गाउँपालिकासँग कृषि ज्ञान केन्द्रले आवश्यक समन्वय गरिरहेको छ,” उहाँले भन्नुभयो ।