दोलखा समाचारदाता
दोलखा, माघ १४ गते । टाँसी–लाप्चापास पद मार्ग खुलेपछि रोल्वालिङ हिमशृङ्खलाका हिमाल पार गरेर सगरमाथासम्म जान सजिलो भएको छ । रोल्वालिङ उपत्यका हुँदै सगरमाथासम्म पदयात्रा गर्न चाहनेका लागि विकल्पका रूपमा यो पद मार्ग बनेको छ। यो पद मार्ग निमार्णसँगै खुम्बु हुँदै सगरमाथा बेसक्याम्प जाने विदेशी पदयात्री बढेका छन् । यो पद मार्ग निकै अघि खुले पनि व्यवस्थापन नहुँदा विदेशी पर्यटकलाई आवतजावत कठिन थियो।
‘द ग्रेट हिमालयन ट्रेल्स’अन्तर्गत पर्ने पद मार्ग बनेपछि कोभिडपछि रोल्वालिङ उपत्यकामा विदेशी पर्यटकको चहलपहल पनि बढेको छ। मुख्य १० पद मार्गलाई समेटिएर बनाइएको ‘द ग्रेट हिमालयन ट्रेल्स’अन्तर्गत उच्च हिमाली एभरेस्ट–रोल्वालिङ टाँसी लाप्चापास पदमार्ग मुख्य मानिन्छ। हिमाली क्षेत्रको फरक–फरक भाषा, संस्कृति, रहनसहन, जीवनशैली हेर्न पनि टाँसी–लाप्चापास पद मार्गलाई गाइडहरू निकै आकर्षक मार्गका रूपमा लिने गरेका छन् । यो वर्ष ३९ देशका एक हजार १३५ विदेशी पर्यटक रोल्वालिङ क्षेत्र घुम्न पुगेका बताइएको छ ।
कोरोना महामारी सुरु हुँदाको वर्ष रोल्वालिङ क्षेत्रमा विदेशी पर्यटकको आवागमन ठप्प थियो। टाँसी–लाप्चापास पद मार्ग निर्माणसँगै ठाउँ–ठाउँमा पर्यटकका लागि बस्न सक्ने ओत बनाएपछि सन् २०२३ मा थप पर्यटक बढ्ने अपेक्षा राखिएको आयोजनाले जनाएको छ ।
रोल्वालिङ उपत्यकाको च्छो–रोल्पा हिमताल र दूधकुण्ड हुँदै टाँसी–लाप्चापास पद मार्ग सोलुखुम्बुको थामेमा जोडिन्छ। यो पद मार्ग पर्यटन विभागले चार करोड रुपियाँको लागतमा निर्माण गरेको हो। पद मार्ग भएर हिँड्ने पर्यटकका लागि १० वटा प्रतीक्षालयसहित बास बस्ने सेल्टर बनाइएका छन् । विगतमा यो पद मार्गमा बास बस्ने ठाउँ थिएन ।
यो पद मार्ग बनाउन नसकिने अप्ठ्यारा भीरमा फारता अर्थात् ढुङ्गा खोपेर फलामे भ-याङ र नरम तारका डोरी हालिएका छन् ।
टाँसी–लाप्चापास पद मार्ग निर्माण समितिका अध्यक्ष दावाछिरिङ शेर्पाले भन्नुभयो, “विगतमा विदेशी पर्यटक र स्थानीय गाइड, भरिया टाँसी–लाप्चापास पार गरेर खुम्बु क्षेत्र ओहोरदोहोर गर्थे। पछि खुम्बु क्षेत्रका लागि काठमाडौँबाट सिधा हवाई यात्राको सुविधा जोडियो। टाँसी–लाप्चापास क्षेत्रबाट खुम्बु हिँडेर जानेलाई जोखिम भयो। बीचमा बास बस्न समस्याका कारण यो क्षेत्र सुनसान बनेको हो ।
बेदिङबाट च्छो–रोल्पा, दूधकुण्ड, थाकरिङ हुँदै यो पद मार्गबाट सगरमाथाको खुम्बु क्षेत्र थामे पुगिन्छ । उहाँले भन्नुभयो, “विगतमा यो बाटो नबन्दा निकै कठिन भएकाले विदेशी पर्यटक निकै कम हुन्थे । थामे पुग्नै सात दिनसम्म लाग्थ्यो। कुनै समय जिरी हुँदै सगरमाथा पैदल जाने पर्यटक हाल यो पद मार्ग भएर जाने गरेका छन् ।”