• १५ वैशाख २०८१, शनिबार

आईकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो

blog

सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठक ।

काठमाडौं, माघ १३ गते। विज्ञले अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठन (आईकाओ)को  मादपण्डको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाइन्सका पूर्व इन्जिनियर निर्देशक अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको तत्काल परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिनुभयो। 

सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै नेपाल एयरलाइन्सका पूर्व इन्जिनियर डाइरेक्टर पहाडीले आईकाओको मापदण्डको पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने र दुर्घटना आफैं न्यूनीकरण हुँदै जाने बताउनुभयो। 

उहाँले दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाई सेवा प्रदायक संस्थाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। पहाडीले भन्नुभयो, ‘जुन आईकाओले गरेको निर्देशिका छ। युरोपियन युनियनले निर्दिष्ट गरेकाे गाइडलाइन छ। त्यसको हामीले अक्षरशः पालना गरियो कि गरिएन त ? सम्बन्धित निकायले दिएको निर्देशन अनुसार भयो कि भएन ? त्यो महत्वपूर्ण कुरा हो। त्यसको अनुगमन कडाका साथ हुनुपर्दछ। दक्ष म्यानपावर हायर गरेर काम गर्नुप¥यो। यसो गर्न सकियो भने भविष्यमा नेपालको हवाई उडानमा हुने दुर्घटना कम हुँदै जान्छ। दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्छ। बाहिरबाट भए पनि दक्ष जनशक्ति नझिकाई मुलुकको हवाई सेवा सुरक्षित हुन सक्दैन।’

नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका काममा पनि ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। 

नेपालको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थालाई व्यावसायिक ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता रहेको तत्कालीन हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले औंल्याउनु भयो। उहाँले हवाई दुर्घटनाका रिर्पोटले दिएको सुझावको आधारमा अघि बढ्दा पनि नेपालमा हवाई दुर्घटनालाई न्यूनीकरण गर्दै लैजान सकिने स्पष्ट पार्नुभयो। देउजाले भन्नुभयो, ‘हवाई दुर्घटनाका रिपाेर्टले दिएको सुझावलाई ध्यान दिएर लागु गर्नुपर्दछ। यी संस्थालाई व्यावसायिक ढङ्गले सञ्चालन गर्नुपर्दछ। यहाँ राजनीतिक तथा प्रशासनिक हस्तक्षेपभन्दा पनि यसलाई व्यावसायिक ढङ्गले अघि बढाउन सक्नुपर्दछ। यसो भयो भने नेपालको हवाई उडान सुरक्षित छ।’

पूर्व महानिर्देशक देउजाले नेपालको हवाई सेवा सुरक्षित रहेको र यसलाई अझै भरपर्दो बनाउने काममा सम्बन्धित निकाय बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो।