काठमाडौं, माघ १३ गते । सरकारले ३० वर्षमाथिका सबै महिलाले नियमित पाठेघरको मुखको परीक्षण गराउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै प्रारम्भिक चरणमै रोग पहिचान गरी पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिने हुँदा ३० वर्षमाथिका सबै महिलाले नियमित जाँच गर्न आग्रह गरेको हो ।
मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा भिआइए प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको निःशुल्क उपलब्ध गराउँदै आएको छ । साथै, मन्त्रालयले ह्युमन प्यापिलोमा भाइरसविरुद्धको खोप लगाएमा पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने जनाएको छ । नेपालमा महिलाहरुमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ ।
चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हो । यसको सङ्क्रमण यौनसम्पर्कबाट हुन्छ ।
धेरै जनासँग असुरक्षित यौनसम्पर्क गर्ने, कम उमेरमा बिहे वा सानैदेखि यौनसम्पर्क हुनु, कम उमेरमा बच्चा जन्माउनु, धेरै बच्चा जन्माउनु, पटक–पटक गर्भपतन गराउनु, धूमपान गर्नु, कुपोषण भएका महिला, एचआईभी सङ्क्रमण भएका महलिाहरु पाठेघरको मुखको क्यान्सरको जोखिममा हुन्छन् ।
यौनसम्पर्क गर्दा रगत देखिनु, याेनिबाट अनियमित रगत बग्नु, सेतो गनाउने पानी आउनु, तल्लो पेट दुखिरहनु, दिसापिसाब गर्दा अप्ठ्यारोे हुनु, ढाड दुख्नु, बढी थकाइ लाग्नु, तौल घट्दै जानु यसका प्रमुख लक्षण हुन् । जनवरी महिनालाई विश्वभर पाठेघर सचेतना महिनाका रुपमा मनाइन्छ ।