काठमाडौं, माघ १३ गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकिएको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा उक्त विवादबारे पेसी तोकिएको थियो ।
आज (शुक्रबार) संवैधानिक इजलासमा गृहमन्त्री लामिछानेका कानुन व्यवसायीहरुले बहस गर्नुभएको छ । त्यसपछि रिट निवेदनहरुले जवाफी बहस गर्नुभएपछि सुनुवाइ सकिएको हो ।
अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो ।
नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।