• १२ मंसिर २०८१, बुधबार

पाइपलाइनमार्फत पेट्रोल ल्याउन ट्याङ्क निर्माण कार्य सुरु

blog

पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्याङ्कहरुको निर्माण सुरु । फाइल तस्बिर

काठमाडौं, माघ १३ गते । नेपाल आयल निगमले आगामी अङ्ग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्याङ्कहरुको निर्माण सुरु गरेको छ ।

निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्याङ्कको गत मङ्सिर २९ गते शिलान्यास गरी निर्माणकार्य सुरु भएको हो । निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ ।

मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भए पनि पेट्रोल भण्डार गर्न ट्याङ्की नहुँदा डिजेल मात्रै आयात भइरहको थियो ।
अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्याङ्कहरुको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्यको सुरुवात गरिएको बताउनुभयो ।


उहाँले दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको जानकारी दिनुभयो । प्रमुख यादवले दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आईओसीले एक/एक वटा ट्याङ्कको लागत व्यहोर्ने जानकारी दिनुभयो ।

प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय पक्षले निर्माण गरिदिने बताउनुभयो । निगमले करिब ७५ करोड भारतीय रुपियाँ खर्च गर्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘मोतिहारी अमलेखगञ्ज मल्टिप्रोजेक्ट पाइपलाइन हो । यसबाट पेट्रोल, डिजेल र मट्टितेल तीनवटै ल्याउन मिल्छ । पहिलो चरणमा निगमले पेट्रोल र मट्टितेल भण्डार र ल्याप बनाउन सकिएको थिएन । त्यसैले पाइपलाइनबाट डिजेल मात्रै आयात गरियो । पाइपलाइनबाट डिजेल तीन वर्ष आयात गरियो । पाइपलाइनबाट डिजेल आयात गर्ने एक दिन पनि अवरोध भएन । २४ घण्टा समेत सञ्चालनमा आयो । पाइपलाइनबाट डिजेल आयात गर्दा निगमको टेक्नीकल लागतलाई शून्यमा झा¥यो । डिजेल आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्च वार्षिक रुपमा करिव दुई अर्ब रुपियाँ बचत भयो ।’’

प्रमुख यादवले निगमले एउटा पेट्रोल ट्याङ्क, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्ने बताउनुभयो । त्यस्तै, निगमको एक अर्ब ५४ करोड भारतीय रुपियाँ बराबरको खर्च हुने अनुमान गरिएको छ ।

‘‘पहिलो चरणमा केही काम बाँकी थियो । अहिले निगमले बाँकी रहेको काम दोस्रो चरणमा पेट्रोलको एउटा ट्याङ्की, ट्रान्समिक्स ट्याङ्क र अटोमेसन लोडिङ वेबको निर्माणका लागि गत डिसेम्बर १५ तरिका दिन शिल्यान्यास भएर काम सुरु भएको छ । अहिले मेकानिकल र ठेकेदार कम्पनीले निर्माणकार्य सुरु गरिसकेको छ ।,’’ उहाँले भन्नुभयो ।

यसैगरी, भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्निकल खर्चमा मासिक रुपमा निगमलाई १५ करोड रुपियाँ बचत हुने भनाइ उहाँको छ । अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्निकल खर्चमा वार्षिक करिब दुई अर्ब रुपियाँ बचत भएको छ ।

प्रमुख यादवले दोस्रो चरणको भर्टिकल ट्याङ्कहरु निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अङ्ग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने बताउनुभयो । उहाँले दोस्रो चरणमा चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई वटा ट्रान्समिक्स ट्याङ्क, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशालाको निर्माण हुने जानकारी दिनुभयो । त्यस्तै, फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पीएमसीसी कक्षसमेत निर्माण हुनेछ ।

प्रमुख यादवले भन्नुभयो, ‘‘सन् २०२३ को डिसेम्बरसम्म निर्माणकार्य सम्पन्न हुन्छ । सन् २०२४ को जनवरीदेखि पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउनेछौं । डिजेल र पेट्रोल दुवै पाइपलाइनबाट आयात गर्दा निगमको मासिक रुपमा ढुवानी भाडा र टेक्निकल लस गरे १५ करोड रुपियाँ बचत हुन्छ । अहिले १९ हजार आठ सय किलोलिटर डिजल  छ । ३४ सय किलोलिटर पेट्रोलको छ भने सबै निर्माणकार्य सम्पन्न भएपछि ४१ हजार आठ सय किलोलिटर डिजेलको भण्डार क्षमता हुन्छ ।’’

यसैगरी, आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुने छ । अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्याङ्करको सङ्ख्या शून्य हुने उहाँले बताउनुभयो । यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवान भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न समेत सहयोग पुग्ने छ ।

‘‘मेनुअल रुपमा ट्याङ्करमा पेट्रोल, डिजेल भर्दा तेल पोखिने र तेल पोखिँदा आगो लागि जस्ता समस्या हुनसक्ने भएकाले अटोमेटिक मेसिनमार्फत ट्याङ्करहरुमा तेल भर्दा बढी वा घटी नहुने हुन्छ । तेल भर्दा समयको पनि व्यवस्थापन हुने हुन्छ । सुरक्षाको हिसाबले अटोमेटिक ल्याबको आवश्यकता हुन्छ । अमलेखगञ्जमा डिपोमा अहिले बिक्री कम भएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘अहिले यो डिपोमा पाँच सय ट्याङ्करको आवाजजावत हुने गरेको थियो । पेट्रोल समेत पाइपलाइनबाट आएपछि यो डिपोमा सात सय ट्याङ्करहरु आवातजावत हुन्छन् ।’’

तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा अर्बौं रुपियाँ बचत हुने अनुमान प्रमुख यादवको छ । तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा सात सय ट्याङ्कर आवतजावत हुनेछ । उहाँले दोस्रो चरणको निर्माणकार्य सम्पन्न हुँदा अमलेखगञ्जको सम्पूर्ण काम अटोमेटिक रुपमा हुने र पाइपलाइनको ४२ प्रतिशत प्रयोग भए पनि दोस्रो चरणको निर्माण सम्पन्न हुँदा पूर्णरुपमा प्रयोग हुने बताउनुभयो ।

निगमले एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा तीन वर्षसम्म ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो । उक्त परियोजनाको लिखित इन्फास्ट्रक्चर प्रालिले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी सबै पूर्वाधार निर्माणको ठेक्का लिएको छ । यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ । ९० दिनको इन्धन भण्डारण गर्ने सरकारको नीति अनुसार थप पाँच÷पाँच हजार किलोलिटर क्षमताको ट्याङ्क निर्माणको तयारी सुरु गरिएको छ ।निर्माण सम्पन्न भएपछि  पाँच दिनको माग धान्नसक्ने डिजेल र सात दिनको माग धान्नसक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने भएको छ ।