काठमाडौं, माघ १३ गते । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो ।
माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय (निर्मल) ले बैठकमा नेता जनार्दन शर्माले सङ्गठनसँग सम्बन्धित प्रस्तुत गरिरहनुभएको जानकारी दिनुभयो । बैठकमा सहभागी हुनुभएका उहाँले भन्नुभयो, “बैठकमा सङ्गठन विभागको सन्दर्भमा अहिले जनार्दन शर्माले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।”
माओवादी केन्द्रको हिजो बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयमा मौखिक र लिखित प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले आजको बैठकमा उक्त प्रतिवेदनमाथि पनि छलफल हुने जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको संक्षिप्त प्रतिवेदन पार्टीको वर्तमान अवस्था एवम् समीक्षा, यसअघिको पाँचदलीय गठबन्धन छोड्नुपर्ने कारण र नयाँ सरकार गठनलगायतका विषयसँग सम्बन्धित रहेको जनाइएको छ ।
यससहित फागुन २९ गते वर्तमान राष्ट्रपतिको समयावधि सकिँदैछ । यसअघि राष्ट्रपति निर्वाचन सन्दर्भमा राजनीतिक दलहरुबीच छलफल चलिरहेका बेला माओवादी स्थायी समितिमा पनि यस विषयमा कुरा उठेको उपाध्यायले बताउनुभयो । “राष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ”, उहाँले भन्नुभयो ।
माओवादी केन्द्रको हिजोको बैठकमा राष्ट्रपति पदमा राष्ट्रिय सहमतिको लागि प्रयास गरिने नेताहरुले जनाएका थिए ।