• ११ मंसिर २०८१, मङ्गलबार

‘बाल अधिकार प्रवर्द्धनमा इमानदार प्रयत्न गर्छु’

blog

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई ज्ञापनपत्र बुझाउँदै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का संयोजक राजेश शर्मालगायत । तस्बिर : प्रकाशविक्रम शाह

कैलाली समाचारदाता

धनगढी, माघ १३ गते । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाल अधिकार प्रवर्द्धनमा इमानदार प्रयत्न गर्ने बताउनुभएको छ। मुख्यमन्त्री रावलले भन्नुभयो, “बालबालिकाका अवस्थाको तथ्याङ्क लिन्छौँ र कार्यान्वयनका लागि गैरसरकारी क्षेत्रको ज्ञान, सीप, प्रविधिसमेतको सहयोग लिन्छौँ।”

उहाँले बालबालिकालाई विद्यालयको पहुँचमा पु-याउन सबैको चासो जरुरी हुनेमा जोड दिनुभयो। मुख्यमन्त्री रावलले बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को बिहीबार ज्ञापनपत्र बुझ्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो। 

उहाँले आफ्नो प्राथमिकता पढाइ, कमाइ, दबाइ उपलब्ध गर्ने तथा पानी, खानी र जवानी सदुपयोग गर्ने रहेको बताउनुभयो। उहाँले बालविवाह र विभिन्न कुलतमा फसेका बालबालिकालाई सही बाटोमा ल्याउन जरुरी रहेको चर्चा गर्नुभयो। उहाँले सुदूरपश्चिमलाई देउकी, छाउपडीजस्ता कुप्रथामा मात्रै जोडेर हेर्न नहुने पनि बताउनुभयो। 

यसैबीच बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बिहीबार धनगढीमा प्रादेशिक छलफल आयोजना गरेको छ। सो अवसरमा संयुक्त राष्ट्रसङ्घ बाल अधिकारसम्बन्धी महासन्धि छैटौँ र सातौँ आवधिक प्रतिवेदनको मस्यौदामाथि छलफल भएको थियो। 

कार्यक्रममा सहभागी फाया नेपालका कार्यक्रम संयोजक सचिनान्द जोशीले स्थानीय पालिका जिम्मेवार नदेखिएको बताउनुभयो। सङ्घीय सरकारको श्रम तथा रोजगार मन्त्रालयले बालश्रममुक्त पालिका घोषणाका लागि पालिकामा अनुदान प्रदान गर्न प्रस्तावना आह्वान गर्ने तर पालिकाले चासो नदिएका कारण मागअनुसार आवेदन नपर्ने गरेको बताउनुभयो। 

धनगढी उपमहानगरपालिका नगर बाल सञ्जाल अध्यक्ष लक्ष्मी जोशीले कतिपय स्थानीय तहमा बाल क्लब गठन तथा सञ्जाल विस्तार विषयमा समेत ज्ञान नभएको बताउनुभयो। कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले बालबालिकाको समग्र अवस्थाबारे प्रस्तुतीकरण राख्नुभएको थियो। 

‘शैक्षिक सुधार आवश्यक’

धनगढी समाचारदाताका अनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको बताउनुभएको छ। 

मुख्यमन्त्री रावलले सरस्वती पूजाका अवसरमा शुभकामना दिनुहुँदै शैक्षिक सुधारको आवश्यकतामा जोड दिनुभयो। उहाँले सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु रहेको बताउनुभयो।