• ७ जेठ २०८१, सोमबार

यमुना–कालिका जोड्ने झोलुङ्गे पुल बन्दै

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, माघ १३ गते । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ यमुनाडाँडा र वडा नम्बर ४ कालिका जोड्ने गरी स्थानीय सियाँलेखोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ। 

५६ लाख ७८ हजार १३७ रुपियाँ लागतमा निर्माण हुने पुलको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले शिलान्यास गर्नुभएको हो।

स्टिल ब्रिज पार्टस्का लागि १५ लाख ४७ हजार ४८५ रुपियाँ ठेक्का सम्झौता भइसकेको र अन्य निर्माण उपभोक्ता समितिमार्फत हुने अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो। सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत स्टिल ब्रिज निर्माण हुन लागेको हो। 

उक्त खोलामा पुल नहुँदा भिरकुले र पुराना गाउँका स्थानीयलाई आउजाउमा समस्या हुँदै आएको थियो। सियाँलेखोलामा पुल निर्माणपछि स्थानीयलाई राहत मिल्ने भिरकुलेका अगुवा दयाराम भुजेलले खुसी व्यक्त गर्नुभयो। 

यो पुलसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा तीनवटा झोलुङ्गे पुल निर्माणका लागि योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताउनुभयो। आगामी आवमा पालिकाको विभिन्न वडामा झोलुङ्गे पुल निर्माण तयारी भइरहेको पालिकाले जनाएको छ।