• २२ असार २०८१, शनिबार

हिउँविहीन हिमाली क्षेत्र

blog

चित्र मिजार

सिन्धुपाल्चोक, माघ १२ गते । सिन्धुपाल्चोकका उत्तरी हिमाली क्षेत्र हिउँबिनाको काला पत्थरमा परिणत हुन थालेका छन्। 

वर्षौंदेखि हेलम्बुको तार्केघ्याङ, मेलम्चीघ्याङ, तेजेनथाङ, कुटुम्साङ, घोप्टेघ्याङ, ठाडेपाटी, तार्तुङमा हिउँ पर्न छाडेको छ। उक्त पहाडहरूमा एकाएक हिउँ पर्न छाडेको हो। जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा ती क्षेत्रमा हिउँ जम्न छाडेको हो।

भूकम्पअघि उक्त काला पत्थर हिउँले सेताम्मे हुन्थे। जुगल, गणेश र गौरीशङ्कर हिमालमा पनि केही वर्षदेखि कम हिउँ पर्न थालेको छ। हाल ती हिमाली क्षेत्र काला पत्थरजस्ता देखिन थालेका छन्। 

हिमाली भेगमा बर्सेनि हिउँ जम्ने क्रम घटेपछि स्थानीय बासिन्दामा चिन्ता छाएको छ। हिमाल आरोहणमा आउने बाह्य र आन्तरिक पर्यटक दिनहुँ घटिरहेका छन्। 

हिउँ पर्न छाडेपछि आन्तरिक र बाह्य पर्यटक शून्यमा झरेको पर्यटककर्मी मिलन लामा बताउनुहुन्छ। हेलम्बु क्षेत्रको ह्योल्मो जातिको सभ्यता, रीतिरिवाज, परम्परा, आर्कषक होटल, पाहुनघर, गुम्बा, घ्याङ, गे्रटटेल अवलोकन भ्रमणका लागि पुगेका पर्यटक उक्त क्षेत्रमा हिउँ खेल्न र छुन नपाएका कारण बिस्तारै पर्यटक भित्रिन कम हुँदै गएको छ। 

स्थानीय उत्पादनबाट बन्ने परिकार बिक्री हुन छोडेको छ। लामटाङ राष्ट्रिय निकुञ्ज, मेलम्ची खोला छहरा र भौगोलिक विविधता ओझेलमा पर्नुमा साथै बढ्दो तापक्रमले हिउँ पग्लिन थालेपछि हिमाली क्षेत्रको पर्यावरणमा चरम असर पर्न थालेको छ। 

हेलम्बु क्षेत्रअन्तर्गतका हिमाली भेगमा हिउँ जम्न थालेपछि हेलम्बु गाउँपालिकाले गत वर्ष २० लाख रुपियाँ बजेट विनियोजन गरेर कृत्रिम हिउँ जमाउन प्रयास गरेको थियो। हिमालहरू हिउँ पग्लेर काला पत्थरमा परिणत भएपछि बजेट नै विनियोजन गरी कृत्रिम हिउँ जमाउन लागिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो। तर, उक्त प्रयासले सफलता पाउन सकेन। हिमालमा हिउँ जम्न छोडेपछि हिमाली भेगमा चिस्यान क्रमशः घट्दै गएको छ। हिउँ पर्ने स्थानमा अहिले तुषारो पर्ने र हिउँ जम्न छोडेपछि हिमाली क्षेत्रको सौन्दर्य क्रमशः हराउँदै गएको छ। 

हिमालमा हिउँ जम्न छोडेपछि भविष्यमा पर्यटनमा असर मात्रै होइन कि कालान्तरमा नदीको मुहान सुक्ने र पानीको हाहाकार हुनसक्ने वातावरणविद् प्रभु बुढाथोकी बताउँछन्। 

विगतमा सिन्धुपाल्चोकका हिमालहरू हिउँले सेताम्मे हुन्थे। हिउँ पानीले जमिन, डाँडापाखा राम्रोसँग भिज्थे। हिउँले डाँडापाखा चाँदीझैँ टलक्कै चम्कन्थे। तर, अहिले हिमाली क्षेत्रमा हिउँ नपर्दा पहाडहरू उराठ लाग्दा देखिन थालेका छन्।