होमराज रानाभाट
गैँडाकोट, माघ १२ गते । कालीगण्डकी कोरिडोरअन्तर्गत गैँडाकोट हुँदै पाल्पा–रामपुरको ८० प्रतिशत कालोपत्रे भइसक्दा पनि सवारी भाडादरमा मनपरी देखिएको छ । सवारीचालकबाट यात्रु दिनप्रतिदिन ठगिनु नियतिजस्तै भएको छ । यो सडक कच्ची हुँदा कायम भएको भाडादर सडक कालोपत्रे हुँदा पनि नघट्दा यात्रुसँग चालकले मनपरी भाडा लिने गरेका हुन् । बुलिङटारका स्थानीय बेलबहादुर दराईले अझै पनि आफूहरू चर्को भाडा तिर्न बाध्य भएको बताउनुभयो ।
पूर्वी नवलपरासीको बुलिङटार, डेढगाउँ, पाल्पाको रामपुर जाने सवारीसाधनले अहिले पनि मनपरी भाडा असुल्न थालेपछि यात्रु मर्कामा परेका गुनासो उहाँले गर्नुभयो । गैँडाकोटको कालीगण्डकी चोकबाट जाने जिप र दलदले भएर बुलिङटार, डेढगाउँ र पाल्पाको रामपुर जाने जिप तथा बसले आफूखुसी भाडा असुलेको बुलिङटारका प्रेमबहादुर थापामगरले बताउनुभयो ।
गैँडाकोटबाट बुलिङटारसम्मको ४३ किलोमिटरको कालोपत्रे सडकको भाडा सवारीचालकले पाँच सयदेखि सात सयसम्म लिने गरेका स्थानीयले बताएका छन् । मनपरी भाडा लिने, दैनिक घण्टौँसम्म बस र जिप कुरेर बस्नुपर्ने, बस तथा जिप कतिखेर जान्छ भन्ने नै यकिन नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । गैँडाकोट भएर बुलिङटार जाने बसले सात सयसम्म भाडा लिने गरेको र यो भाडा कच्ची सडक हुँदाको कायम गरिएको भाडा भएको बताइएको छ । अहिले कालोपत्रे हुँदा पनि यही भाडा तिर्न यात्रु बाध्य छन् ।
तराईमा प्रतिकिलोमिटर तीन रुपियाँ र पहाडमा प्रतिकिलोमिटर पाँच रुपियाँ भाडादर कायम भए पनि प्रतिकिलोमिटर १६ रुपियाँ तिर्नुपर्ने बाध्य छन् यात्रु ।
यो रुटमा अहिले पनि ६० प्रतिशतसम्म भाडा चर्को असुली हुने गरेको डेढगाउँका हरि ओझाले बताउनुभयो । पाल्पा–रामपुरसम्मको भाडा एक हजारभन्दा माथि रहेको छ । यो मनपरी ढङ्गले तोकिएकाले वैज्ञानिक नभएको भनाइ स्थानीयको छ ।
दैनिक एक दर्जनभन्दा बढी सवारी साधन गैँडाकोट कालीगण्डकी चोकबाट ढोडेनी हुँदै बुलिङटार थामबेँसी कोटा र दलदले भएर बुलिङटार, डेढगाउँ पाल्पाको रामपुरलगायत क्षेत्रमा ओहोरदोहोर गर्ने गर्छन् । बुलिङटार गैँडाकोट सम्पर्क समाजले लेकबेँसी यातायातलाई चर्को भाडाका विषयमा ध्यानाकर्षण गराउने र सुनुवाइ नभए प्रमुख जिल्ला अधिकारीको समेत ध्यानाकर्षण गराई भाडादर समस्या समाधान गरिने समाजका अध्यक्ष खड्गबहादुर कुमालले बताउनुभयो ।
यहाँ लेकबेँसी यातायात प्रालिले बस र जिप सञ्चालनमा ल्याएको छ । बस र जिप सञ्चालकले आफ्नो अनुकूलतामा भाडा लिने त्यो पनि असाध्यै चर्को लिने गर्दा यात्रु मर्कामा परेको डाडाँझेरीका मनबहादुर रानाभाटले बताउनुभयो ।
त्यसमाथि दलदले र गैँडाकोटको कालीगण्डकी चोकमा घण्टौँ गाडी कुरेर बस्नुपर्ने बाध्यता छ । दिनहुँ यो समस्या भोग्नुपरेको बताउँदै उहाँले दैनिक दुई दर्जनभन्दा बढी बस र जिप चल्ने यो सडकमा अति आवश्यक परेका बेला सवारीसाधन पाउनै मुस्किल हुने गरेको बताउनुभयो ।
सवारीसाधन सञ्चालनका लागि निश्चित समय नतोकिएकाले अचानक बिरामी परे तत्कालै स्वास्थ्योपचारका लागि अस्पताल जान पनि सवारीसाधन नपाउने अवस्था रहेको स्थानीय बताउँछन् । अर्को यातायात व्यवसायीको सिन्डिकेटका कारण भाडादर चर्को र चालकको इच्छाअनुसार सवारीसाधन चल्ने भएकाले समस्या थपिएको हो । गाडी सञ्चालक जनक आचार्यले यात्रु भरिएपछि मात्रै गाडी चल्ने भएकाले चार/पाँच घण्टासम्म गाडी कुर्नपर्ने बताउनुभयो ।
पहाडी क्षेत्रमा चल्ने बस र जिपको निश्चित समय तोकिदिए त्यो समयमा अनिवार्य त्यहाँबाट छुट्ने व्यवस्था मिलाएर गाउँवासीको समस्या समाधानमा स्थानीय प्रशासनले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले चर्को भाडा लिने जोकसैलाई कारबाही गरिने बताउनुहुन्छ । तर यस विषयमा उजुरी गर्न आग्रह गर्नुभयो ।
लेकबेँसी यातायात प्रालिका अध्यक्ष युवराज बस्यालले गाडीभाडामा मनपरी असुल्नेमाथि कारबाही गरिने र छानबिन थालिएको दाबी गर्नुहुन्छ । त्यसरी चर्को भाडा लिएर यात्रुलाई दुःख दिनेमाथि समितिले कारबाही गर्ने भनाइ उहाँको छ ।