• १० मंसिर २०८१, सोमबार

लागुऔषध कारोबारमा संलग्न एक सय ६४ जना पक्राउ

blog

लागुऔषधसहित पक्राउ परेका भारतीय नागरिक। तस्बिर : नेपाल प्रहरी

अविनाश चौधरी

धनगढी, माघ १० गते। कैलाली प्रहरीले लागुऔषधको कारोबारमा संलग्न एक सय ६४ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।

 चालु आर्थिक वर्षको हालसम्म महिला ११ र पुरुष १५३ गरी १६४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीले साउनमा ३८, भदौमा ३२, असोजमा १८, कात्तिकमा ३४, मङ्सिरमा १२, पुसमा २३ र माघको हालसम्म सात जनालाई पक्राउ गरेको छ। 

हालसम्म ११२ वटा मुद्दा दर्ता भएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो। यसैगरी, कारोबारीको साथबाट अहिलेसम्म प्रहरीले २३८ ग्राम ६१ मिलिग्राम खैरो हेरोइन, नाइट्राभेट ५५० ट्याब्लेट, चरेश १६ किलो ५१७ ग्राम बरामद गरेको छ। यस्तै, स्पास्मो ६४ क्याप्सुल बरामद गरिएको साउदले जानकारी दिनुभयो। 

भारतसँग खुला सीमाका कारण लागुऔषधको तस्करी र कारोबार बढ्दो छ। जिल्लाको सीमावर्ती क्षेत्र त्रिनगर, बंगरा, जुगेडा, फूलबारी, हसुलिया, भजनी, खक्रौला–टीकापुर क्षेत्र लागुऔषध कारोबारीको ट्रान्जिट प्वाइन्ट बनेको छ। 

अत्तरिया, धनगढी, टीकापुर, लम्की, सुखड लगायतका बजार क्षेत्र कारोबारीको थलो बनेको छ। घोडाघोडी ताल, जाखोर ताल लगायतका पर्यटकीय क्षेत्र भने लागुऔषध सेवनकर्ताको थलो बनेको प्रहरी निरीक्षक साउदले बताउनुभयो। लागुऔषधको कारोबार तथा सेवन कार्यमा किशोर, युवा बढी संलग्न रहेको उहाँको भनाइ छ। 

गत आर्थिक वर्षमा कैलालीमा लागुऔषध मुद्दामा ३२५ जना पक्राउ परेका थिए। जसमध्ये १६ जना महिला थिए। २०१ मुद्दा दर्ता भएको थियो। सो समयावधिमा ६८८ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। यसैगरी, नाइट्राभेट तीन हजार ६३२ ट्याब्लेट, ४४ किलो चरेश, स्पास्मो एक हजार ३६४ क्याप्सुल बरामद गरिएको थियो। यस्तै, ११४ ट्याब्लेट ट्रमाडोल र १०२ क्याप्सुल अन्य लागुऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ। 

पछिल्लो समय लागुऔषधको कारोबार बढ्नुका साथै नियन्त्रणमा चुनौती पनि थपिएको प्रहरी निरीक्षक साउदले बताउनुभयो। ‘सबैतिर लागुऔषधको कारोबार र सेवन गर्ने कार्य बढेको छ’, उहाँले भन्नुभयो। सीमा क्षेत्रमा लागुऔषध ओसारपसारको कार्यमा भारतीय नागरिकसमेत संलग्न रहेको फेला परेको छ। केही भारतीयलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।