• ८ पुस २०८१, सोमबार

कटान नरोकिँदा स्थानीय चिन्तित

blog

जीवछ यादव

लहान, माघ ९ गते । बलान नदीको पश्चिम किनार सुक्खा मौसममा समेत कटान भइरहेको छ। यसले वर्षाको समयमा नियन्त्रणबाहिर जाने चिन्तामा स्थानीय छन्। सिराहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदी सिराहातर्फको लहान–२३, तिलोबोना र करैयाको बीच पश्चिमी किनारमा कटान भइरहेको छ। 

त्यहाँ एक सय बिघाभन्दा बढी उर्वर जमिन कटान गरिसकेको स्थानीय मुसहरु यादवले बताउनुभयो। उहाँले माघदेखि फागुनसम्म नियन्त्रणका लागि कुनै प्रयास भएन भने उत्तर दक्षिण भएर बग्ने बलान नदी पूर्व–पश्चिम बग्ने खतरालाई टार्न नसकिने चिन्ता व्यक्त गर्नुभयो। 

कतिपयको लालपुर्जा झोलामा छ तर उर्वर जग्गाजति बलान खोलामा गइसक्यो। समयमा नियन्त्रण गर्न नसके पश्चिमतर्फका बस्ती तिलोबोना, गढा, खैरबोनालगायत दर्जनाैँ गाउँबाट बलान बगेर बहाव बनाएपछि विकराल अवस्था आउने भएकाले स्थानीय चिन्तित भएको लहान–२३ का वडाध्यक्ष बद्रीनारायण यादवले बताउनुभयो। 

उहाँले भन्नुभयो, “बलान नदी नियन्त्रणका लागि प्रधानमन्त्री, मधेश प्रदेशका मुख्यमन्त्रीलाई यसबारे जानकारी गराउन प्रदेश सभा सदस्य राजकुमार गुप्ता, प्रतिनिधि सभा सदस्य रामशङ्कर यादवमार्फत तीनै तहको सरकारसँग हारगुहार गरेका छौँ।” 

लहान नगरपालिकाको बजेटले सम्भव नदेखिएकाले सङ्घीय र प्रदेश सरकारको बजेट आवश्यक भएको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यसका लागि चौतर्फी सहयोगको आवश्यक छ। गत वर्ष लहान नगरपालिकाले अस्थायी तटबन्ध बनाएको थियो तर वर्षाको समयमा आउने बाढीले बगाएर लगेपछि झन् कटान तीव्र भइरहेको छ।” 

‘राष्ट्रिय राजमार्गमा रहेको बलान पुलदेखि सिधा दक्षिण बगिरहेको बलान नदी पश्चिमतर्फ बग्न थालेपछि कटान नियन्त्रणभन्दा बाहिर जान थालेको छ। स्थानीय शिक्षक राजदेव यादवले भन्नुभयो, “सुक्खा मौसममा समेत कटान जारी छ। यही गतिमा गइरहने हो भने सत्यानाश हुने निश्चित छ। कुनै उपाय गरियोस्। स्थानीय तिलेबोनावासीले हारगुहार मागिरहेका छन्।”

बलान नदीको पूर्व किनार र पुलनजिक रहेको वनमा रहेका बँदेल, नीलगाईले तरकारी खेती, गहुँ र धानसमेत खाइदिने अर्को विपत्ति स्थानीय किसानलाई आइपरेको छ। यसको ठोस निकासका लागि कुनै निकायबाट सुनुवाइ नभएपछि उठीबासको अवस्था आएको पीडा स्थानीय किसानको छ। 

बलान नदीको कटानबाट सिराहातर्फका लहान नगरपालिकाका ३, ४, ६, १७, १९ र २२ नम्बर वडा, सखुवानान्काराकट्टीको ४ र ५ भगवानपुर गाउँपालिकाको १, २ र ३ नम्बर वडाका किसान गरी एक हजार बिघा उर्वर जमिन कटान भएको छ। यसले गर्दा सुकुम्बासी भएर गाउँ नै छाडेर अन्यत्र सर्नुपरेको सखुवानान्काराकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो। लहान नगरपालिका, सखुवानान्काराकट्टी र भगवानपुर गाउँपालिकाको साझा समस्या भएकाले समाधानका लागि प्रदेश र सङ्घ सरकारले पनि सम्बोधन गरिदिनुपर्ने उहाँको भनाइ छ। प्रत्येक वर्ष वर्षामा प्रदेश सरकारका मन्त्री, मुख्यमन्त्री तथा सङ्घीय सांसदहरूले आश्वासन दिए पनि समस्या समाधान भएको छैन। यस पटक सुक्खा मौसममा नै ताकेता गरिएको तिलेबोनाका स्थानीय बासिन्दाले बताएका छन्।