• ८ पुस २०८१, सोमबार

घरबाटै बेच्छन् किसानले दूध

blog

जनार्जन खत्री

सर्लाही, माघ ९ गते । घरबाटै दूध बिक्री हुन थालेपछि सर्लाहीका पशुपालक किसानले राम्रो आम्दानी गर्न थालेका छन्। किसानको दूध खरिद गर्न अहिले हरेक गाउँमा गाडी पुग्छ।

डेरी सञ्चालकले किसानबाट दूध उठाएर डेरीमा लगी बिक्री गर्ने युवाले घरघरमै पुगी दूध उठाउने गर्छन्। यसरी डेरी सञ्चालक दूध लिन घरमै पुग्ने भएकाले दुहुनो गाई, भैँसी पालेका किसानलाई दूध बिक्री गर्न कुनै समस्या छैन। 

घरबाटै दूध बिक्री हुने भएपछि ग्रामीण भेगमा किसानले दुहुना गाई, भैँसी पाल्न थालेका छन्। ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरकी बिन्दा चौहानले दूध उठाउन दैनिक घरमै गाडी आउने गरेको बताउनुभयो। जति परिमाणमा दूध उत्पादन गरे पनि सहजै बिक्री हुँदा व्यवहार धान्न सजिलो भएको चौहानको भनाइ छ। चौहानले भन्नुभयो, “बिहान–बेलुकाकै दूध उठाउन गाडी आउँछ, हामीलाई त यसले ठूलो राहत मिलेको छ। दूध बेचेर घरखर्च राम्रो चलेको छ, दुई/चार पैसा खेलाउन पनि पाएका छौँ।”

यहाँका किसान केही वर्षअघिसम्म दूध बिक्री नहुँदा समस्यामा थिए। अहिले घरबाटै दूध बेच्न पाउँदा किसान गाई, भैँसी पाल्न हौसिएका छन्। किसानलाई अप्ठ्यारो परेका बेला डेरी सञ्चालकले घरमै पैसासमेत पु-याइदिने गर्छन्। 

यहाँका किसानले दूध प्रतिलिटर ७० देखि ८० रुपियाँमा बिक्री गरिरहेका छन्। हरिवन नगरपालिका–४, सासापुरमा डेरी पसल सञ्चालन गर्दै आउनुभएका रामशरण मैनालीले किसानबाट दैनिक एक हजार लिटरभन्दा बढी दूध खरिद गर्ने गरेको बताउनुभयो। “गाई, भैँसीको फार्म नै रहेका किसानले र दूध उठाउने काम गर्ने युवाले यहीँ डेरीमै दूध लिएर आउनुहुन्छ, नत्र अन्य किसानको घरमै गएर दूध उठाउने हो,” मैनालीले भन्नुभयो। डेरी सञ्चालकहरूका अनुसार सर्लाहीमा दैनिक ३० हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ।