होमराज रानाभाट
कावासोती, माघ ८ गते । सुगम जिल्लाका रूपमा परिचित भए पनि पूर्वी नवलपरासीका तीन गाउँपालिकाका १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली नपुग्दा समस्यामा रहेका नागरिक अब बिजुली पुग्ने भएपछि खुसी भएका छन् ।
जिल्लाको तीन गाउँपालिका हुप्सेकोट, बुलिगंटार र बौदीकालीका १३ वडा अझै पनि अन्धकार छ । यो वर्षभित्र नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाग्ने काम धूर्त गतिमा भइरहेको कावासोती बिद्युत प्राधिकरणका निमित्त प्रमुख निश्चल अधिकारीले बताउनुभयो ।
राष्ट्रिय प्रसारणबाट विमुख हुँदा अन्धकारमा नै बस्नुपर्ने बाध्यताबाट यो वर्ष यहाँका करिब ५० हजार जनता लाभान्वित हुने अधिकारीले बताउनुभयो । हुुप्सेकोट, बुुलिगंटार र बौंदीकाली तीन गाउँपालिकाका १३ वडाका ५० हजार जनता राष्ट्रिय बिद्युतको पहुँचबाट पुरै विमुख छन् ।
स्थानीय जनकबहादुर रानाभाटका अनुसार बिजुली बाल्ने सपना धेरैले देखाए पनि बिजुली पुग्न लामो समय लागेको छ । सबै दलको एउटै आश्वासन, उनीहरूले दिएको आश्वासन ३० वर्ष पुग्यो उहाँले भन्नुभयो ।
राष्ट्रिय प्रसारणको बिजुली गाउँसम्म लग्न बिजुलीको पोल गाड्ने काम भइरहेको प्राधिकरणको भनाइ छ । “केही ठाउँमा ट्रान्समिटर जडानको काम भइरहेको छ, अब चाँडै नै बिजुली बाल्ने र उज्यालो नवलपुर अभियान सफल पार्न काम अगाडि बढेको छ” नेपाल बिद्युत प्राधिकरण कावासोतीका निमित्त प्रमुख अधिकारीले भन्नुभयो ।
अहिले बुुलिगंटार, बौंदीकाली र हुप्सेकोटका १३ वडामा बिद्युत सेवा लाग्ने गरी यो वर्षभित्र नवलुपुरका बाँकी बिजुली नपुगेका सबै वडासहित ९२ वडामा नै बिजुली लगेर नवलपुर जिल्ला राष्ट्रिय प्रसारणसँग जोडिने निमित्त प्रमुख अधिकारीले बताउनुभयो ।
लघु जलविद्युतमार्फत जेनतेन बिजुली बालेर जीवन बिताउन बाध्य त्यहाँका जनता अब भने चाँडै नै केन्द्रीय बिद्युत प्रसारणसँग प्रत्यक्ष जोडिने स्थानीय बुुलिगंटारका भबिलाल रानामगरले बताउनुभयो ।
यहाँबाट ३३ केभी लाइन विस्तार गरी जिल्लाको पहाडी तीन गाउँपालिकामा बिद्युत बिस्तार गरिने गरी प्रक्रिया अघि बढेपछि बुलिगंटार र बौंदीकाली र हुुप्सेकोट गाउँपालिकाका स्थानीय जनता लाभान्वित हुने अध्यक्ष ओझाले बताउनुभयो ।
आयोजना बिस्तार भएपछि तीन गाउँपालिकाका झण्डै ५० हजारले लाभ लिने आयोजनाले जनाएको छ । देबचुलीको प्रगतिनगर सबस्टेसनबाट मुडाबास, मुन्ड़े हुँदै बोझा पोखरीसम्म सो लाइन विस्तार अघि बढेपछि पहाडी तीन गाउँपालिकामा नै बिद्युतको काम अघि बढेको छ ।