• १२ साउन २०८१, शनिबार

सहमतिमा एमालेबाटै राष्ट्रपति: गुरुङ

blog

प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ । तस्बिर: दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, माघ ८ गते । पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् नेकपा (एमाले) का नेता पार्वत गुरुङले सहमतिकै आधारमा नेकपा एमालेबाट राष्ट्रपति बन्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आइतबार दाङको लमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व सञ्चारमन्त्री गुरुङले एमाले बाहिरबाट राष्ट्रपति बन्ने भन्ने भ्रम त्याग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रपतिको गरिमा बढ्दा सबैलाई राष्ट्रपतिको आकाङ्क्षा बढ्नु स्वाभाविकै होला तर सक्ता गठबन्धनभित्रको पूर्व सहमति अनुसार एमाले बाहेक अन्य पार्टीले राष्ट्रपति दाबी गर्न सुहाउँदैन त्यो त एउटा भ्रम मात्रै हो ।’

नेकपा एमालेका पोलिटब्युरो सदस्य  गुरुङले कांग्रेस, माओवादीको गठबन्धन तोडेर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुलाई आफूहरूले प्रमुख सफलताको रूपमा लिएको बताउनुभयो । उहाँले ‘त्यो गठबन्धनबाट देशले निकास पाउँदैन भनेका थियौँ, नेपाली काँग्रेसका कारण उक्त गठबन्धन पनि तोडियो, देशले निकास पायो नयाँ सरकार बनेसँगै परिवर्तनको सुरुवात बिस्तारै देखिँदै छ ।’ भन्नुभयो । 

नेपाली कांग्रेस नेकपा एमाले र माओवादी बीचमा अविश्वास सिर्जना गर्ने खेलमा लागेको आरोप लगाउँदै उहाँले प्रधानमन्त्रीलाई विश्वास मत दिनु त्यसैको उदाहरण भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो,‘संसदीय मर्यादा र अभ्यास विपरीत फेरि प्रमुख प्रतिपक्षी दलको हैसियतसमेत नराखी जुन खेल्न खोजेको देखिँदै छ, त्यो पक्कै पनि सकारात्मक पक्ष होइन ।’

अब मुलुकमा अस्थिरता सिर्जना गर्ने छुट कसैलाई पनि नभएको भन्दै उहाँले राजनीतिक नेतृत्वले आफूलाई सक्षम साबित गर्न पनि सबै प्रकारका हस्तक्षेपबाट मुक्त बनाउनुपर्ने सुझाव उहाँको थियो । एमाले माओवादी एकताको विषयमा पत्रकारहरूको जिज्ञासामा गुरुङले सबै कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक रहेको भन्दै त्यो एकता वास्तविक र साँचो अर्थमा हुनुपर्ने बताउनुभयो ।