• १२ मंसिर २०८१, बुधबार

कालो गरुड र भुँडीफोर वृद्धि

blog

शालिग्राम नेपाल 

चितवन, माघ ८ गते । चितवनमा भएको चरा गणनामा लोपोन्मुख प्रजातिका चराको सङ्ख्या बढेको पाइएको छ । पुस महिनाको अन्तिम साताबाट गणना गरिएको चितवनमा कालो गरुड र भुँडीफोर प्रजातिको चराको सङ्ख्या राम्रो देखिएको हो । यी दुई चरालाई संरक्षित सूचीमा राखिएको छ । विश्वबाटै लोपोन्मुख भुँडीफोर प्रजाति रैथाने जातिको चरा हो । “यो चरा विगतका वर्षमा हराउँदै गएको थियो, अहिले देखा पर्न थालेको छ,” बर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीले भन्नुभयो । 

रैथाने जातिका चरा हराउने क्रम बढेकोमा यस पटकको गणनामा राम्रो सङ्ख्या पाउनु खुसीको विषय भएको उहाँले बताउनुभयो । पूर्वी चितवनका विभिन्न स्थानमा यी प्रजातिका चरा भेटिएका हुन् । यस पटकको गणनामा भुँडीफोर ३० वटाभन्दा धेरै भेटिएका छन् । कालो गरुड चरा पनि ३० वटा भेटिएको जानकारी उहाँले दिनुभयो । 

यी प्रजातिका चरा ठूला ताल–तलैया, नदीहरूमा भेटिने गर्छ । नारायणी, राप्ती नदी, बीसहजारी ताललगायतका स्थानमा यी चरा भेटिएको चराविज्ञ बिडारीले बताउनुभयो । विकासका पूर्वाधार, मानिसका गतिविधि, कृषिमा विषादीको बढ्दो प्रयोगलगायतका कारण रैथानेदेखि आगन्तुक चराको बासस्थानमा समस्या पर्दा चराहरू हराउँदै जान थालेको उहाँले बताउनुभयो । 

चितवनमा गत वर्षको गणनामा चार हजार ४१५ वटा चखेवा भेटिएकोमा अहिले त्यो सङ्ख्या वृद्धि भएर पाँच हजार ८१५ पुगेको छ । यस वर्ष मात्रै एक हजार चार सय चखेवा वृद्धि भएको विज्ञ बिडारीले जानकारी दिनुभयो । यसैगरी चिसो छल्न साइबेरिया, इन्डोनेसियालगायतबाट १५० देखि १६० प्रजातिका चरा चितवन आउने गरेको पाइएको छ । यस वर्ष पनि त्यही सङ्ख्यामा चरा बाहिरबाट आएको उहाँले बताउनुभयो । 

कालो गरुड र भुँडीफोर चरा नेपालमा धेरै नभएको चरा गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले जानकारी दिनुभयो । “यी चरा बिस्तारै हराउँदै गएका छन्,” उहाँले भन्नुभयो, “लोप हुन लागेको अवस्था होइन तर हरेक वर्ष यसको सङ्ख्या भने घट्दै गएको छ । त्यसैले सरकारले यसलाई संरक्षण सूचीमा राखेको छ । अन्य चराको जस्तो सामान्य संरक्षण सूचीमा यी पर्दैनन् ।”

नेपालमा करिब पाँच सयदेखि एक हजारको सङ्ख्यामा यस्ता चरा भएको अनुमान छ । भुँडीफोर चरा कपिलवस्तुको जगदीशपुर ताल, चितवन, पूर्वी नवलपरासी, सर्लाहीदेखि पूर्वतर्फ मात्र पाइने गरेको छ । अन्य जिल्लामा पाइन छाडेको डा. बरालले जानकारी दिनुभयो । पन्छी संरक्षणमा अब विशेष कार्यक्रम ल्याएर काम गर्नुपर्ने जरुरी रहेको भन्दै चरा गणना कार्य पश्चिम नेपालका विभिन्न स्थानमा रहेकाले केही दिनपछि नेपालमा चराको अवस्थाबारे विस्तृत जानकारी दिने उहाँले बताउनुभयो । फेब्रुअरी २ मा चितवनबाटै चरा गणनाको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी उहाँले दिनुभयो । 

हरेक क्षेत्रमा जस्तै जलवायु परिवर्तनको प्रभाव चराको बासस्थानमा समेत परेको छ । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार ८९२ प्रजातिका चरा छन् । तिनमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै ६५२ प्रजातिका चरा छन् ।