• १० मंसिर २०८१, सोमबार

प्रधानमन्त्री दाहालबाट सोनाम ल्होछारको शुभकामना

blog

काठमाडौँ, माघ ८ गते । आदिवासी जनजाति मध्ये बौद्ध धर्मावलम्बीले मनाउने सोनाम लोसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रिय ल्होसार पर्व –२८५९ ह्योई–तावर ल्हो (खरायो वर्ष) को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको कामना गर्नुहुँदै प्रधानमन्त्री दाहालले शुभकामना व्यक्त गर्नुभएको छ । 

शुभकामना सन्देश (पुर्णपाठ)

तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ ह्योई/तावर ल्हो (खरायो वर्ष) को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेको छ र अहिले हामी धर्मनिरपेक्ष, समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ । यो आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्याङ्कन र प्रशंसा गर्न चाहन्छु ।

नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन् । यहाँ बसोबास गर्ने सबै जाति÷जातजातिको आ—आफ्नो भिन्न भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो ।

नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो । यही पद्धति अङ्गालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरु हुन्छ भन्ने मान्दछ । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम -किसानहरूको_ ल्होछार पनि भन्दछन् ।

नेपालमा मात्र नभएर चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाइल्यान्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मङ्गोल—चिनिया सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ । आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ सङ्घ÷संस्थाहरूले समेत ल्होछार पर्व धूमधामसँग मनाउँदै आएका छन् । तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्त्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्त्व राख्दछ ।

ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एवम् वैज्ञानिक महत्त्व बोकेको थुप्रै पर्व छन् । तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय संस्कृतिको प्रवर्द्धन गर्नुपर्दछ । अन्तमा, फेरि पनि सोनाम ल्होछारले समस्त नेपालीहरूमा आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकता कायम गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।


८ माघ २०७९

पुष्पकमल दाहाल प्रचण्ड

प्रधानमन्त्री