• १३ असोज २०८१, आइतबार

घडीको सुई चार महिना एकै ठाउँमा

blog

निशा राई 

धरान, माघ ५ गते । पूर्वको चर्चित र सुन्दर सहर धरान उपमहानगरमा पर्यटकको मुख्य आकर्षण भानु चोकमा अवस्थित घण्टाघर पनि हो तर विगत चार महिनादेखि घण्टाघरको घडी बन्द छ । 

झट्ट हेर्दा सबैभन्दा पहिला देखिने घण्टाघरको घडीले नै काम नगरेपछि यो फिक्का भएको छ । यहाँ पूर्व–पश्चिम जाने बाटो, बस बिसौनी र बजारीकरण गर्ने स्थान पनि भएकोले यसलाई धरानको मुख्य अङ्ग पनि भन्न सकिन्छ । धरानमा एसियाकै ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चलकै ठूलो क्याम्पस महेन्द्र क्याम्पस, हातीसार क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस छन्, जसले गर्दा विद्यार्थी, अस्पतालमा आउने बिरामी तथा धरानबाट अन्य ठाउँ जाने मानिसहरू दैनिक हजारौँको सङ्ख्यामा हुने गर्छन् । 

यसरी दैनिकी हजारौँको सङ्ख्यामा चहलपहल गर्ने क्षेत्र भानु चोकको घण्टाघर धरानको मुख्य पर्यटकीयको आकषर्णको केन्द्र हो । बगैँचा, भूकम्प स्मारक उद्यान पनि भएकाले यो आन्तरिक तथा बाह्य पर्यटकका लागि घुम्ने, अलमलिने, फोटो खिच्ने, आराम गर्ने गन्तव्य बनेको छ । 

घण्टाघर परिसरमा वि.सं. २०४५ को भूकम्पमा ज्यान गुमाएकाहरूको स्मृतिमा भूकम्प स्मारक बनाइएको छ । धरानमा त्यसबेला भूकम्पले निकै क्षति पु¥याएको थियो । वि.सं. २०४५ मा गएको भूकम्पमा देशभर ठूलो जनधनको क्षति भएको थियो । त्यतिबेला धरान नगर क्षेत्रका ११६ जनाको मृत्यु भयो भने एक हजार पाँच सय जना घाइते भएका थिए । त्यतिबेला मृत्यु हुनेहरूको सम्झनामा भूकम्प स्मारक बनाइएको हो । यो पनि यतिबेला पर्यटकको गतव्य बनेको छ । 

धरान लाहुरेको सहर पनि भनेर चिनिन्छ । लाहुरेहरूबाट हङकङमा बसोबास गरिरहेका ‘धरान हङकङ मञ्च’को सहयोगमा र धरानवासीको लगानीमा धरान उपमहानगरपालिकाको २० वर्षे दीर्घकालीन सोचअनुरूप पर्यटकका लागि थप आकर्षण र धरान नगरको छुट्टै पहिचानसमेत गराउने उद्देश्यले भानु चोकमा ५६ लाख ३९ हजार लागतमा निर्माण गरी वि.सं २०६२ पुस २० गतेदेखि घण्टाघर औपचारिक रूपमा पर्यटकलाई प्रवेश खुला गरिएको थियो । 

हङकङस्थित घण्टाघरकै नमुनाको उक्त घण्टाघर जमिनभन्दा माथि ७६.५ फिट उचाइको छ । ५५ फिटको उचाइमा गएर एक पटकमा करिब ५० जनासम्मले वरिपरि परिक्रमा गर्दै दृश्यावलोकन गर्न सक्छन् । पूर्वी नेपाल घुम्नका लागि पर्यटकीय ‘हब’का रूपमा धरान विकास भएको अधिवक्ता दीपककुमार बुढाथोकीले बताउनुुहुन्छ ।  

घण्टाघरका कर्मचारी राजन सुब्बा भन्नुहुन्छ, बिग्रेको करिब चार महिना भयो । उपमहानगरपालिकाले बेवास्ता गरेका कारण घडी मर्मत नभएको हो । यो घण्टाघर धरान उपमहानगरअन्तर्गत पर्दछ । यसलाई बनाउने जिम्मा पनि नगरपालिकाको हो । उहाँका अनुसार दैनिक सरदर तीन, चार सय जनाको हाराहारीमा घण्टाघर प्रवेश गर्छन् । यहाँ घुम्न र घण्टाघर चढ्न शुल्क तिर्नुपर्छ । यसरी घण्टाघरको समय बिग्रिएकोमा सर्वसाधारण धेरैले गुनासो गरेको घण्टाघरका कर्मचारी सुब्बाले बताउनुभयो ।  

धरान–११ बस्ने प्रतिक राई भन्नुहुन्छ, “धरानको पहिचान बनेको घण्टाघरलाई स्थानीय सरकारले बेवास्ता गरेर घडीसमेत मर्मत नगर्दा आन्तरिक तथा बाह्य पर्यटकसामु धरानको बेइज्जत भएको छ । 

धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले घण्टाघरको घडी मर्मत गर्न लगाइसकेको बताउनुहुन्छ । धरानको आकर्षण घण्टाघरलाई उपमहानगरले बेवास्ता नगरेको तथा बिग्रिएको जानकारी पाएलगत्तै मर्मत गर्न लगाएको उपप्रमुख बेघाले बताउनुभयो ।