• १२ मंसिर २०८१, बुधबार

मौर्यकालीन पोखरी उत्खनन

blog

नारद कोहार

तौलिहवा, माघ ४ गते । प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु गरिएको छ। तिलौराकोट राजा शुद्धोधनको दरबार एवं भगवान् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो। युनेस्को जापानिज फन्ड्स इन ट्रस्टको आर्थिक सहयोगमा सन् २०१४ मा पुरातत्व विभाग बेलायतको दुरह्याम विश्वविद्यालय र लुम्बिनी विकास कोषलगायतको टोलीले पोखरीको भौतिक सर्वेक्षण गरेको छ।

उक्त सर्वेक्षणबाट जमिनभित्र अलिकति धस्सिएको ३०/३० मिटर क्षेत्रफलको एउटा संरचना फेला पारेको छ। भौतिक सर्वेक्षणले यसको वरिपरि चौडा बाहिरी पर्खाल भएको अनुमान गरेको छ। मध्यभागमा खाली रहेकाले उक्त संरचना प्राचीन नगरका अन्य सडक तथा भवनजस्तै भएको सङ्केत गरेको थियो। उत्खननबाट नगरभित्र इँटाको गारो लगाइएको ठूलो पोखरी रहेको भेटिएको हो।

सो क्षेत्रको सन् २०१५ मा उत्खनन गर्दा जोगिएको २६ तहको इँटा भेटिएको र त्यो इँटाका तहहरू क्रम मिलाएर राखिएको पुरातत्व विभागका अधिकृत भाष्कर ज्ञवालीले बताउनुभयो। 

उक्त क्षेत्रमा निर्माण गरिएको पोखरीका इँटाहरू कुनै ४५ सेन्टिमिटर लम्बाइ भएको भेटिएको उहाँले बताउनुभयो। यो संरचनालाई रेडियो कार्बन तिथि निर्धारण गर्दा सो पोखरी मौर्यकालीन समयमा बनेको कुरा पत्ता लागेको हो। उहाँले भन्नुभयो, “पुरातìव विभागले पोखरी दक्षिणतर्फको पर्खालको पहिचान गर्नका लागि गत वर्षदेखि अध्ययन सुरु गरेको थियो।” गत वर्ष दक्षिणतर्फ रहेको पर्खालको करिब १२ मिटरमा उत्खनन गरिएको हो। 

यो वर्ष बाँकी रहेको ११ मिटर उत्खनन गरिने उहाँको भनाइ छ। उत्खनन गर्ने क्रममा दक्षिणतर्फको पर्खालको लम्बाइ २७ मिटर रहेको पाइएको अधिकृत ज्ञवालीले बताउनुभयो। विगतको वर्षहरूमा पोखरीको उत्खनन गर्दा २६ तहको इँटा भेटिएकाले यस वर्ष गरिएको अध्ययन अनुसन्धानबाट यो पोखरी विभिन्न समयमा बनेको तथ्य फेला पर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। 

उहाँले भन्नुभयो, “विभिन्न समयमा बनेको २६ तहभन्दा बढी २७ देखि २८ तहसम्म पहिचान गर्न सफल भएका थियौँ। पोखरीको निर्माण काठमाडौँ उपत्यकामा नगरी योजनाको मुख्य अंश भएको र तिलौराकोटमा समेत यसको निर्माण भएको अनुमान गरिएको छ।” 

नेपालको तराई र पहाडका बीचमा नगरी योजनासम्बन्धी साझा अवधारणाहरू रहेको हुन सक्ने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताउनुभयो। विगत वर्षहरूमा पोखरी उत्खनन गर्ने क्रममा मौर्यकालीनमा बनेको पोखरीको भग्नावशेष, कुषाणकालीन सिक्का, पाञ्चमार्कका सिक्का, विभिन्न किसिमका माटोबाट बनेका आकृतिहरू फेला पारेका थिए।

तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोष र पुरातत्व विभागले विभिन्न किसिमका प्रक्रिया अगाडि बढाएको लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधवप्रसाद आचार्यले बताउनुभयो। 

विगतका वर्षहरूमा तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्स, समयमाई मन्दिर, दरबारको पूर्वी प्रदेशद्वार, कन्थक स्तूप, शिवगढ र तिलौराकोटको उत्तरतर्फको खाली ठाउँमा उत्खनन गरिएको थियो।