• १३ असोज २०८१, आइतबार

कालीगण्डकी कोरिडोर प्रसारण लाइन अन्तिम चरणमा

blog

गोपी ज्ञवाली 

नवलपरासी, माघ ३ गते । बेनी–कुस्मा हुँदै कालीगण्डकी कोरिडोरको विद्युत् नवलपरासीको भूमही (बडेरा)को सबस्टेसनसम्म पु-याउनका लागि बन्दै गरेको कालीगण्डकी कोरिडोर विद्युत् प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

सन २०१८ को जनवरीदेखि निर्माण कार्य सुरु गरेको कालीगण्डकी कोरिडोर २२० केभी विद्युत् प्रसारण लाइन निर्माणको काम अहिले ९५ प्रतिशत सम्पन्न भएको प्रसारण लाइन आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो । 

एसियाली विकास बैङ्क (एडीबी)को सहुलियतपूर्ण कर्जा लगानीमा बन्न लागेको यो प्रसारण लाइन नवलपरासीको सुनवल–१२, बडेरा स्थित न्यु बुटवल–बर्दघाट २२० केभी  सबस्टेसनमा आइपुग्छ । यहीँबाट कालीगण्डकी कोरिडोरका आयोजनाको विद्युत् पूर्व–पश्चिम विद्युत् प्रसारण लाइनमा जोडिनेछ । बुटवल–गोरखपुर अन्तरदेशीय विद्युत् प्रसारण लाइन पनि यही सबस्टेसनमा जाडिने घोषले बताउनुभयो । 

सन २०२१ डिसेम्बरसम्ममा निर्माण सम्पन्न हुनुपर्ने यो आयोजना कोभिड महामारीका कारण केही ढिला भएको थियो । अहिले निर्माण गर्नुपर्ने २३३ वटा टावरमध्ये अधिकांश निर्माण भइसकेका छन् भने नवलपरासी क्षेत्रमा बन्ने पाँचवटा टावर निर्माणाधीन छन् । प्रसारण लाइनको पहाडी क्षेत्रको भागमा तार तान्ने काम पनि सम्पन्न भएको जनाइएकोे छ । 

यो प्रसारण लाइन बनेपछि कालीगण्डकी क्षेत्रमा निर्माण भएका साना ठूला गरी करिब एक दर्जन विद्युत्गृहमा उत्पादित विद्युत् राष्टिय प्रसारण लाइनमा जोडिनेछ । 

सुनवलको २२० केभी प्रसारण लाइनको सबस्टेसन र कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाका बनेपछि नवलपरासी र रुपन्देहीका औद्योगिक क्षेत्रमा विद्युत्को अभावको समस्या हल हुने र यस क्षेत्रमा हुने विद्युत् ट्रिपिङको समस्या समाधान हुनेछ।