• १३ असोज २०८१, आइतबार

सुनकोसीको जलयात्रा अफ सिजनमै आकर्षक

blog

बाबुराम देवकोटा

सुनकोसी (सिन्धुली), माघ ३ गते । सुनकोसी नदीमा जलयात्रा व्यवसायको बलियो सम्भावना देखिएको छ । राजधानी काठमाडौँलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग सञ्चालनसँगै सिन्धुलीको सुनकोसी गाउँपालिकास्थित मूलकोटमा रहेका होटलले सञ्चालन गरेको सुनकोसी नदी जलयात्रा (-याफ्टिङ) गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ । बीपी राजमार्ग सञ्चालनसँगै मूलकोटमा सुविधा सम्पन्न होटल निर्माण गर्ने क्रम बढ्दै गएको छ ।

मूलकोटका होटल व्यवसायी जलयात्रामार्फत आन्तरिक तथा बाह्य पर्यटक तान्ने अभियानमा जुटेको बताउँछन् । मूलकोटस्थित ताज रिसोर्टका सञ्चालक मनोज श्रेष्ठ विगत चार वर्षदेखि आफूले जलयात्रा व्यवसाय सुरु गरेको र सिजनमा आफूलाई भ्याइनभ्याइ नै हुने गरेको बताउनुहुन्छ ।

“सिजनमा भ्याइनभ्याइ नै हुन्छ, ‘गुड फ्राइडे’ मनाउन काठमाडौँ र तराईबाट प्याकेजमा यात्रु आउँछन्,” उहाँले भन्नुभयो, “शुक्रबार र शनिबारमा एक हजारदेखि १५ सयसम्मले सुनकोसी नदीमा जलयात्रा गर्दै आएका छन् ।”

सिजन भन्नाले माघदेखि असारसम्म बर्सातको मौसम सुरु नहुन्जेल रहेको र अहिले ‘अफ सिजन’ हुँदा पनि सन्तोषजनक रूपमा नै जलयात्रा चलिरहेको उहाँले सुनाउनुभयो । रिसोर्ट सञ्चालक श्रेष्ठका अनुसार मूलकोटका चार जना होटल सञ्चालक मिलेर ताज रिसोर्टको नाममा जलयात्रा व्यवसाय सञ्चालन गर्न पर्यटन बोर्डबाट लाइसेन्स लिएको श्रेष्ठले बताउनुभयो ।  

जलयात्रा सुनकोसी गाउँपालिका–१, कुशेश्वर महादेव मन्दिरदेखि मूलकोटसम्म रहेको छ । जलयात्राका लागि १० वटा बोट (डुङ्गा)को व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । अरू होटल व्यवसायीले समेत जलयात्राका लागि गेस्टहरू दिने गरेको उहाँको भनाइ छ ।

जलयात्रुको बीमा र सुरक्षाका सबै उपाय अनुसरण गरिएको उहाँले बताउनुभयो ।  छ वर्षअघि जिल्लास्थित सरोकार निकाय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभागले जिल्लाको कुशेश्वर दुम्जादेखि गोलन्जोर गाउँपालिका–६, बलेनीसम्म झन्डै ३५ किलोमिटर दूरीमा सुनकोसी नदीमा जलयात्रा सञ्चालनका लागि विशेष परीक्षण सम्पन्न भएको थियो ।

सुनकोसी गाउँपालिकाका अध्यक्ष दीपा बोहोराले सुनकोसी नदी जलयात्राका लागि उपयुक्त देखिएको र गाउँपालिकाले पनि अनुमति दिएर सहयोग गरेको बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटनका लागि वैकल्पिक आकर्षक गन्तव्यका रूपमा सुनकोसी नदीमा -याफ्टिङ व्यावसाय सुरुवात गर्ने योजना रहेको अर्का होटल व्यवसायी मीन श्रेष्ठको भनाइ छ । 

सुनकोसी नदीमा जलयात्राका लागि आउने पर्यटकको स्वागत, सत्कार, खान बस्न, उपयुक्त होटह निर्माण, होमस्टे निर्माण तथा -याफ्टिङ गाइडलाई तालिम दिनेजस्ता कार्यमा सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । जलयात्रामा आउनेका लागि सुनकोसी गाउँपालिकाको मूलकोट, खाल्टे, रामटार, बोहोरेटारमा आधुनिक र सुविधासम्पन्न होटल तथा रिसोर्ट खुलेका छन् ।