• १२ साउन २०८१, शनिबार

बागमती प्रदेश उपसभामुखमा चापागाईँ निर्वाचित

blog

बागमती प्रदेशको प्रदेश उपसभामुखका निर्वाचित हुनुभएका नेकपा (एमाले) का अप्सरा चापागाईँ खत्री ।

राममणि दाहाल 

हेटौंडा, माघ २ गते । बागमती प्रदेशको प्रदेश उपसभामुखका लागि भएको निर्वाचनमा नेकपा (एमाले) का प्रदेश सभाका सदस्य  अप्सरा चापागाईँ खत्री निर्वाचित हुनुभएको छ ।

प्रदेश उपसभामुखका लागि सोमबार भएको निर्वाचनमा चापागाँई ६१ मत पाउनुभएको छ । प्रदेश उपसभामुखको निर्वाचन दस्तखतसहितको मत विभाजनबाट भएको हो । प्रदेश उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभा सदस्य चापागाईँलाई प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकाले चापागाईँ उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको सभामुख भुवन पाठकले  जानकारी गराउनुभयो ।

चापागाईँको विपक्षमा ३९ मत परेको थियो । सात जना प्रदेश सभा सदस्य निर्वाचनमा तटस्थ रहनुभयो । ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३ र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् । मा गत शुक्रबार भएको उम्मेदवारी मनोनयनमा तीन जनाको उम्मेदवारी परेको थियो ।

यस्तै, प्रदेश उपसभामुखमा नेपाली कांग्रेसबाट सुना परियार र नेपाल मजदुर किसान पार्टीबाट गीता काफ्लेको उम्मेदवारी दिनुभएको थियो । प्रदेश सभामा कांग्रेसको ३७ र नेमकिपाको तीन जना प्रदेश सभा सदस्य छन् । सात जना प्रदेश सभा सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) प्रदेश सभामुखको निर्वाचनमा तटस्थ बस्यो ।

शपथ भोलि   

यसैबीच प्रदेश उपसभामुखमा निर्वाचित चापागाईँको शपथ मङ्गलबार हुनेभएको छ । पोखरामा भएको विमान दुर्घटनापछि शोक व्यक्त गर्न सार्वजनिक बिदा दिएकाकारण शपथ रोकिएको हो । राष्ट्र शोकमा रहेका कारण शपथ कार्यक्रम रोकिएको बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमालेका चापागाईँलाई सत्ता गठबन्धनमा रहेको एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको थियो । गत शुक्रबार भएको प्रदेश सभामुखमा भएको निर्वाचनमा सत्ता गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य भुवन पाठक निर्वाचित हुनुभएको थियो ।