• १३ असोज २०८१, आइतबार

पोखरा विमान दुर्घटनाको जाँचबुझ समितिको प्रतिवेदन सार्वजनिक गरियोस् : प्रवक्ता डा. महत

blog

नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशशरण महत ।

काठमाडौं, माघ २ गते । नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निष्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

उहाँले आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्नुहुँदै यस्ता घटना पटक–पटक दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो, “विमान दुर्घटनाले हामी सबैको मन मस्तिष्कलाई हल्लाएको छ । अत्यन्त पीडा दिएको छ । यस्तो घटनाहरु पटकपटक दोहोरिरहेका छन् । यो अवस्थामा यो विषयलाई हरेक पटक घटना हुन्छ, त्यसपछि हामीले एउटा छानबिन समिति बनाउँछौँ, छानबिन समितिको निश्कर्ष के निस्किन्छ, त्यसको अत्तोपत्तो कसैले पाउँदैन । यो परिस्थितिको अन्त्य गर्नुपर्छ ।”

प्रवक्ता महतले अहिलेसम्म भएका विमान दुर्घटनाहरु किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसको आधारमा यस्तो घटनाहरु, दुर्घटनाहरु दोहोरिन नदिन यथेष्ठ उपाय हामीले गर्नुपर्छ । होइन भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिम भन्नेकुरा जान्छ । नागरिकको ज्यान जानुले नकारात्मक तस्बिर पनि संसारको सामुन्ने राख्छ । सरकारले यो विषय गम्भीरताका साथ लिनुपर्छ ।”