रमेश पौडेल
पोखरा, माघ २ गते । यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि काठमाडौंबाट आएका फरेन्सिक विज्ञ टोलीले पोस्टमार्टमको काम सुरु गरेको छ । सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका फरेन्सिक विज्ञ चिकित्सकसहितका टिमले शव पहिचानका लागि पोस्टमार्टमको काम सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले काठमाडौंबाट आएका फरेन्सिक विज्ञ चिकित्सकको टिमले छलफलपछि पोस्टमार्टम कार्यलाई अगाडि बढाएको जानकारी दिनुभयो ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा आएर शवको परीक्षण थाल्नुभएको हो । विमान दुर्घटनामा परी ज्यान गुमाएकाको पहिचान तथा पोस्टमार्टमका लागि पोखरा र काठमाडौंका विज्ञ चिकित्सकसहितको टिम बनाइएको छ ।
यद्यपि, पोखरामा आफन्त भएका नागरिकको शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पोस्टमार्टम गर्ने र पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइने छ ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन–एनएसी’ ६९१ उडानको एटीआर–७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चार चालक दलसहित ७२ जना सवार थिए । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ४२ जनाको शव पहिचान भएको हो ।