रामेछाप समाचारदाता
रामेछाप, माघ २ गते । रामेछापको मन्थली नगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को छ महिनामा जम्मा २७.१७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।
चालू आवका लागि एक अर्ब १३ करोड पाँच लाख ४३ हजार ३४ रुपियाँ बजेट स्वीकृत भएकोमा अहिलेसम्म नगरपालिकाले २७.१७ प्रतिशत अर्थात् ३० करोड ७१ लाख ६८ हजार ५४२ रुपियाँ मात्रै खर्च गरेको छ । नगरपालिकाले विकास बजेट ३७ करोड ४९ लाख ७४ हजार ३४ रुपियाँ विनियोजन गरेकोमा १३.१५ प्रतिशत अर्थात् चार करोड ९३ लाख नौ हजार ८५ रुपियाँ मात्रै खर्च गरेको छ ।
चालूतर्फ ७५ करोड ५५ खाल ६९ हजार बजेट रहेकोमा ३४.१४ प्रतिशत अर्थात् २५ करोड ७९ लाख ५१ हजार २८६ रुपियाँ खर्च भएको छ । १४ वडा रहेको मन्थली नगरपालिकामा चालू आवमा ३७६ वटा योजना रहेकोमा हालसम्म १७५ वटा योजना मात्र सम्झौता भएको र तीमध्ये ३६ वटा योजना सम्पन्न भएका छन् ।
यस्तै रामेछाप नगरपालिकाको प्रगति झनै कमजोर देखिएको छ । यो नगरपालिकाले पहिलो छ महिनामा ७८ करोड पाँच लाख ८४ हजार रुपियाँ स्वीकृत बजेटमा १८.७८ प्रतिशत अर्थात् १४ करोड ६६ लाख चार हजार ३५२ रुपियाँ मात्रै बजेट खर्च गरेको छ ।
यो नगरपालिकाले विकास बजेट ३१ करोड सात लाख ६० हजार ५५६ रुपियाँ रहेकोमा ७.७७ प्रतिशत अर्थात् दुई करोड ४१ लाख ५५ हजार ३२ रुपियाँ मात्रै बजेट खर्च गरेको छ । नगरले चालूतर्फ ४६ करोड ९८ लाख २३ हजार ४४३ रुपियाँ बजेट रहेकोमा २०.०६ प्रतिशत अर्थात् १२ करोड २४ लाख ४९ हजार ३२० रुपियाँ बजेट खर्च गरेको छ ।
नौवटा वडा रहेको रामेछाप नगरपालिकामा चालू आवमा ७२ वटा योजना रहेकामा ३२ वटा योजनाको हालसम्म सम्झौता भएको र तीमध्ये तीनवटा योजना सम्पन्न भएका छन् ।
रामेछापका अन्य छवटा पालिकाको पनि समग्र प्रगति न्यून देखिएको छ । वडा, पालिका र उपभोक्ता समितिले असारे विकासको मानसिकता छोड्न नसक्दा जिल्लाका सबै पालिकाको चालू आवको पहिलो छ महिनाको प्रगति न्यून देखिएको पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे बताउनहुन्छ ।
नगरपालिकाले छ महिनाको अवधिमा ५० प्रतिशत पनि योजनाको सम्झौता गर्न नसक्नु राम्रो नभएको मन्थली नगरपालिकाका प्रमुख लवकुमार श्रेष्ठ स्वीकार गर्नुहुन्छ । उहाँले भन्नुभयो, “छ
महिनाको अवधिमा ५० प्रतिशतभन्दा बढी योजना सम्झौता नै नहुनु कार्यसम्पादनको हिसाबले राम्रो होइन । ३१२ वटा योजना पाँच लाख रुपियाँभन्दा कम रकमका भएकाले साना योजनामा बजेट जाँदा पनि कामको उपलब्धि नदेखिएको हो ।”
निर्वाचन र निर्वाचन आचारसंहिताका कारण पनि नगरपालिकाले विकास योजना सोचेअनुरूप सञ्चालन गर्न नसकेको रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकास्तरमा बजेट खर्च गर्ने अख्तियारी नै ढिला आउनु र सार्वजनिक खरिद ऐनका कारणले पनि विकासे योजना सञ्चालनलाई गति दिन सकिएन ।”
अहिलेसम्म नगरपालिकाको विकास बजेट प्रगति कम देखिए पनि बाँकी रहेको छ महिनाको अवधिमा धेरैभन्दा धेरै काम गरी सबै योजना समयमै सम्पन्न गर्ने नगरप्रमुख न्यौपानेको भनाइ छ ।