रुकुमपूर्व समाचारदाता
रुकुमपूर्व, माघ १ गते । माघेसङ्क्रान्ति मगर समुदायको विशेष पर्व हो । यो समुदायले भूम्यालाई बल पूजापछिको ठूलो पर्वका रूपमा मनाउने गर्दछ ।
माघेसङ्क्रान्तिका दिन छोरीचेलीलाई ‘मिसरा बाँड्ने’ अर्थात् पुज्ने चलन छ । बिहान भाले बासेसँगै उठ्ने र घरमा भएका चेलीबेटीलाई पुजेपछि माघेसङ्क्रान्ति पर्व सुरु भएको मानिन्छ ।
दाजुभाइले दिदीबहिनीलाई टपरीमा फलफूल, रोटी, तरुल, चामल, दक्षिणा अन्य उपहार दिने गर्छन् । यसलाई मिसरा बाँड्ने भनिन्छ । घरका चेलीबेटीलाई पुजिसकेपछि छरछिमेक र गाउँका चेलीबेटीलाई पुजिन्छ ।
भूम्या मनाउन पुस मसान्तका दिन राँगा तथा खसी–बोका काटिन्छ, कन्दमूल पकाएर खाइन्छ । माघ १ गते घरका छोरीचेली नपुजी अरू कुनै काम सुरु हुँदैन । चेलीबेटी पुजिसकेपछि गाउँमा तीर हान्ने प्रतियोगिता सुरु हुन्छ ।
धनुषवाणमार्फत हरेक टोलमा तारो अर्थात् तीर हान्ने प्रतियोगिता हुने गरेको रोकामगरले जानकारी दिनुभयो । भने श्याम्भो नाच्दै चाड बनाउने
गरिन्छ । पुथाउत्तरगङ्गाका १४ वटै र भूमे गाउँपालिकाका धेरै वडामा भूम्या मनाइन्छ । रुकुमपूर्वका विभिन्न स्थानमा मगर समुदायको बाक्लो बसोबास रहेको छ ।