• १३ असोज २०८१, आइतबार

नदी कटान नियन्त्रण गुरुयोजना कार्यान्वयन भएन

blog

बाँकेको बैजनाथमा मानखोलाले कटान गरेको क्षेत्रको अनुगमन गर्दै प्रदेश सांसद रत्न खत्री र जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुखसहितको टोली । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, पुस ३० गते । बाँकेमा राप्ती नदी बाहेक मानखोला, डुडुवा खोला र मोरङ्गा खोलाको निरन्तरको कटानका कारण बर्षेनी सयौं बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ । कटान नियन्त्रणका लागि सरकारी कार्यालयले बनाएको गुरुयोजना बजेट अभावमा कार्यान्वयनमा आउन सकेको छैन । 

तीन वटै खोलाको कटान नियन्त्रणका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगञ्जले छुट्टाछुट्टै गूरुयोजना बनाएको निमित्त कार्यालय प्रमुख परशुराम चौधरीले जानकारी दिनुभयो । 

कार्यालयका अनुसार करिब चार वर्षअघि खोलाको कटान नियन्त्रणका लागि गूरुयोजना निर्माण गरिएको भए पनि न्यून बजेटका कारण कटान रोकथाम र नियन्त्रणमा प्रभावकारी काम हुन सकेको छैन । 

मानखोला कटान नियन्त्रणका लागि चिसापानीदेखि खजुरा गाउँपालिकासम्म दुवैतर्फ तटबन्ध गर्नेगरी करिब एक अर्ब ६९ करोड रुपियाँ खर्च हुनेगरी गुरुयोजना तयार पारिएको छ । तर नियन्त्रणका लागि निश्चित स्थानमा ससाना कामका लागि १५ लाख रुपियाँ बजेट विनियोजन हुनेगरेको छ । 

“कटान नियन्त्रणका लागि तयार पारिएको गुरुयोजनाअनुसार काम गर्ने हो भने कटान रोकथाम र नियन्त्रण गर्न सकिन्छ” जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगञ्जका निमित्त प्रमुख चौधरीले भन्नुभयो– “अहिले विनियोजन हुने बजेटले स्थानीयको आवश्यकता पूरा गर्न सकिएको छैन । 

बाँके क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले मानखोलाको कटान नियन्त्रणका लागि गुरुयोजना अनुसार अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । १०–२० लाखको टुक्रे आयोजनाले कटानको दीर्घकालीन समाधान हुन नसक्ने सांसद खत्रीले बताउनुभयो । 

“तत्काल गुरुयोजना कार्यान्वयन गर्न बजेट अभाव हो भने क्षति रोक्नका लागि बढी कटान भएको स्थानमा तत्कालै काम सुरु गरेर जानुपर्छ” खत्रीले भन्नुभयो, “नदी कटान रोकथाम र नियन्त्रणका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक देखिएको छ ।”