• १३ असोज २०८१, आइतबार

मधेश प्रदेश सभामुखका लागि मण्डल र यादवको उम्मेदवारी

blog

धर्बेन्द्र झा 

धनुसा, पुस ३० गते । मधेश प्रदेशसभाको सभामुखका लागि माघ २ गते हुने निर्वाचन अन्तर्गत शनिबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा दुई जना प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

सत्ता साझेदार दलको तर्फबाट नेकपा (एमाले) का प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र प्रतिपक्षीदलको तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य जंगीलाल राई यादवले उम्मेदवारी दर्ता गराएको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । 

प्रदेश सभा सचिवालयले आज बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका राखेकोमा समयभित्र दुई जनाको मात्रै उम्मेदवारी परेको निमित्त सचिव यादवले बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) को प्रस्तावमा साझेदार दलहरूको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएका मण्डललाई नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र लोसपाको समर्थन छ । त्यसैगरी कांग्रेसकै प्रस्तावमा प्रतिपक्षी दलको तर्फबाट उम्मेदवारी दिनुभएका यादवलाई कांग्रेससहित समाजवादीको समर्थन छ । 

मधेश प्रदेशसभामा हाल १०५ जना प्रदेशसभा सदस्य रहनुभएको छ । १०७ जनामध्ये नेकपा माओवादी केन्द्रका २ जना प्रदेशसभा सदस्यको मुद्दा सर्वोच्चमा रहेकाले तिनीहरूकाे अहिले शपथ ग्रहण हुनसकेकाे छैन ।