• १३ असोज २०८१, आइतबार

नवलपरासीको मनरीमा माघी मेला सुरु

blog

माघी मेलामा सरावलको मनरीमा थारु सांस्कृतिक नाच प्रस्तुत गर्दै थारु महिला । तस्बिर : गोपी ज्ञवाली

गोपी ज्ञवाली 

नवलपरासी, पुस ३० गते । थारु समुदायको बाहुल्यता रहेको नवलपरासीको सरावल गाउँपालिकाको मनरीमा दुई दिने माघी मेला सुरु भएको छ । थारु समुदायले माघे संक्रान्तिलाई वर्षको नयाँ दिनको रूपमा मनाउने प्रचलनअनुसार माघे संक्रन्तिको आवसरमा सरावल गाउँपालिकाको वार्ड २ मनरीमा तीन दिने माघी मेला सुरु भएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद थारुले बताउनुभएको छ । 

नवलपरासीको करिब सात वटै स्थानीय तहमा थारु समुदायको बसोबास भए पनि सरावल गाउँपालिकामा भने बहुसङ्ख्यक थारु समुदायको बसोबास रहेकाले जिल्लाको थारु समुदायको केन्द्रको रूपमा सरावलको मनरीमा प्रत्येक वर्ष माघी मेलाको आयोजना गरिने गरेको छ । सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद थारुले एउटा भव्य कार्यक्रमवीच तीन दिने माघी मेलाको उद्घाटन गर्नुभएको हो । 

माघे सङ्क्रान्तिको अवसरमा मनरीमा आयोजित माघी महोत्सवमा थारुको सांस्कृतिक नाच, डण्डा नाच, ढकिया नाच, विभिन्न प्रकारका खेलको आयोजना, विभिन्न प्रकारका नाटक मन्चन, विभिन्न प्रकारका थारु सांस्कृतिक खानाका परिकारको प्रस्तुति, थारु समुदायको लोपोन्मुख अवस्थामा पुगेका वा लोप भइसकेको विभिन्न प्रकारका सामानको प्रदर्शनी लगायतका कार्यक्रमको आयोजना गरिएको स्थानीय श्रीराम युवा प्रतिष्ठानका सदस्य हरिहर थारुले बताउनुभयो । 

यसैगरी माघे सङ्क्रान्ति अवसरमा नवलपरासीको त्रिवेणी धाममा स्नान गर्नका लागि भारत एवम् नेपालका विभिन्न स्थानबाट आउने भक्तजनको घुइँचो लागेको छ । त्रिवेणी धाममा नेपालबाटभन्दा पनि भारतको उत्तर प्रदेश एवम् विहार राज्यबाट ठूलो सङ्ख्यामा स्नानगरी पूजाआजा गर्न लाखौँको सख्यामा मानिस आउने गरेका छन् ।