• १३ असोज २०८१, आइतबार

बागमती प्रदेश उपसभामुखमा तीन जनाको उम्मेदवारी

blog

बागमती प्रदेशको उपसभामुख पदका उम्मेदवार कांग्रेसका सुना परियार, नेमकिपाका गीता काफ्ले र एमालेका अप्सरा चापागाईं खत्री । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, पुस ३० गते ।
 बागमती प्रदेशको प्रदेश उपसभामुखमा तीन जनाको उम्मेदवारी परेको छ । प्रदेश उपसभामुखमा उम्मेदवारी मनोनयन दर्ता गर्न शुक्रबार साँझ ५ देखि ६ः३० बजेसम्मको समय तय भएकोमा नेपाली कांग्रेसबाट सुना परियार, नेकपा (एमाले) बाट अप्सरा चापागाईँ खत्री र नेपाल मजदुर किसान पार्टी (नेककिपा) बाट गीता काफ्लेको उम्मेदवारी दर्ता भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।

परियारको प्रस्तावकमा उत्तम जोशी र समर्थकमा थाङ्किला शेर्पा हुनुहुन्छ भने खत्रीको प्रस्तावकमा कुमारी मुक्तान र समर्थकमा आशा लामा तथा काफ्लेको प्रस्तावकमा सिर्जना सायजु र समर्थकमा सुरेन्द्रराज गोसाईं रहनुभएको छ ।

प्रदेश उपसभामुखको निर्वाचन आगामी माघ २ गते दिउँसो ३ बजे हुने गरी कार्यतालिका तय भएको छ । यसअघि शुक्रबार नै प्रदेश सभामुखमा निर्वाचित भएर शपथ लिएसँगै प्रदेश सभामुख भुवन पाठकले भएको उपसभामुखको निर्वाचन मिति र कार्यतालिका सार्वजनिक गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई निर्देशन दिनुभएको थियो ।

प्रदेश उपसभामुखको निर्वाचन दस्तखतसहितको मत विभाजनबाट गरिने भएको छ ।  चापागाईँलाई सत्ता गठबन्धनमा रहेको एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ ।

११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३ र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् । यसैगरी, कांग्रेसको ३७ र नेमकिपाको तीन जना प्रदेश सभा सदस्य छन् । सात जना प्रदेश सभा सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) प्रदेश सभामुखको निर्वाचनमा तटस्थ रहेको थियो । 

शुक्रबार नै प्रदेश सभामुखमा भएको निर्वाचनमा सत्ता गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य भुवन पाठक निर्वाचित हुनुभएको थियो ।निर्वाचनमा पाठकले ६२ मत प्राप्त गर्नुभएको थियो ।