• १२ मंसिर २०८१, बुधबार

दादुरा रुबेलाको थप खोप ल्याइयो

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, पुस ३०  गते । केही समयदेखि दादुरा सङ्क्रमण फैलिएको बाँकेमा खोप अभियान तीव्र पार्न ३० हजार मात्रा दादुराको थप खोप केन्द्रबाट यहाँ ल्याइएको छ ।

बिहीबार राति उक्त खोप केन्द्रबाट नेपालगञ्ज आइपुगेको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताउनुभयो । सो खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत प्राप्त भएको हो । उहाँले थप खोप आइपुगेकाले अब खोप अभियानलाई प्रभावित क्षेत्र र सोभन्दा बाहिर पनि तीव्र पारिने बताउनुभयो । दादुरा रुबेलाको खोप १६ हजार पाँच सय मात्रा मौज्दात रहेकोमा हालसम्म सात हजार पाँच सय खोप खपत भइसकेको छ । कुल नौ हजार खोप मात्र बाँकी रहेकाले थप माग गरिएको थियो । 

खोप सुपरभाइजर श्रेष्ठले रोगको लक्षण देखिनेबित्तिकै उपचारका लागि स्वास्थ्यकर्मीलाई सम्बन्धित ठाउँमा पठाउने गरिएको र खोप अभियान पनि सुरु गरिने गरिएको बताउनुभयो । 

नेपालगञ्जमा एक्कासि दादुराका बिरामी तीव्र गतिमा बढ्न थालेपछि यही पुस २२ देखि दादुरा रुबेला विशेष खोप अभियान सञ्चालन गरिएको छ । बिरामीको सङ्ख्या बढ्दै गएपछि बाँकेमा शुक्रबारदेखि २० वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको छ । यसअघि १५ वटा खोप केन्द्र सञ्चालन गरिएको थियो । 

बाँकेमा हालसम्म दादुरा रुबेलाको खोप लगाउने बालबालिकाको सङ्ख्या सात हजार १६३ पुगेको छ । हालसम्म ११५ जनामा दादुरा रोग देखिएको छ । नेपालगञ्जका ११३ र खजुराका दुई गरी ११५ जनामा दादुरा देखिएको हो ।