चितवन समाचारदाता
चितवन, पुस ३० गते । देवघाटमा लाग्ने माघेसङ्क्रान्ति मेलालाई व्यवस्थित गर्नका लागि सुरक्षाकर्मीलाई विशेष परिचालन गरिनेभएको छ ।
कोराना भाइरस सङ्क्रमणको कारण मेलामा आउने भक्तजनलाई कडाइ गरिएकोमा यस वर्ष सुरक्षित तरिकाले स्नान गर्ने व्यवस्था मिलाउन सुरक्षाकर्मी र स्वयंसेवीको व्यवस्था गरिएको हो ।
मेलामा आएका हरेक भक्तजन आफू सुरक्षित महसुस गरेर स्नान गर्ने र धार्मिक अनुष्ठानअनुसार कर्म गर्न पाउने व्यवस्था मिलाइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गत वर्षभन्दा अहिले धेरै भक्तजन आउने अनुमान गरेका छौँ । तनहुँ र चितवनतर्फबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी छ सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।”
वृद्धवृद्धा भक्तजन र आवश्यक पर्नेहरूका लागि आवासको व्यवस्थासमेत मिलाइएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । मेलामा आउने भक्तजनलाई खाना र आवासको अभाव नहुने बताइएको छ ।
मकर सङ्क्रान्तिको दिन देवता देवघाटमा आउने भन्ने धार्मिक विश्वासले यस दिन यहाँ मेला लाग्दै आएको छ । यहाँ आउने भक्तजन त्रिशूली र कालीगण्डकी नदीको सङ्गम स्थलमा स्नान गर्छन् । स्नान गर्ने ठाउँमा जोखिम हुने भएकाले बाँस गाडेर सुरक्षा घेरा बनाइएको छ ।
आपत्कालीन उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बोटे समुदायलाई परिचालन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, देवघाट आउनेका लागि दासढुङ्गाबाट, ठिमुरा र रामनगरबाट प्रवेश गर्न दिने व्यवस्था मिलाएका छौँ । निकासका लागि ठिमुरा र रामनगरबाट प्रवेश गर्नेहरू नारायणगढको आँपटारीबाट जाने व्यवस्था रहेको छ । दासढुङ्गाबाट प्रवेश गर्नेहरूलाई त्यहीँबाट जाने व्यवस्था मिलाइएको छ ।
सवारीसाधनहरू सीताराम माविको मैदान र जङ्गलको खुला स्थानमा राखिने व्यवस्था मिलाइएको क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । मेलामा स्वास्थ्य परीक्षण सेवा, आपत्कालीन एम्बुलेन्स, निःशुल्क स्वास्थ्य सेवा, रात्रिकालीन बिजुली बत्ती, सुरक्षा गस्तीलगायतको व्यवस्था रहेको क्षेत्र विकास समितिले जानकारी दिएको छ ।
यो अवधिमा मादक पदार्थ सेवनलाई निषेध गरिएको छ । मेलामा आउने भक्तजनलाई झोलुङ्गे पुल प्रयोग गर्दा एक पटकमा सय जना मात्र हिँड्न दिने गरी व्यवस्था मिलाइएको छ ।