काठमाडौं, पुस २९ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा विगतको समीक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यक रहेको बताउनुभएको छ।
शुक्रबार पूर्व एमाले तथा वामपन्थी नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उहाँले नयाँ चिन्तनकासाथ विगतका कमी, कमजोरीको समीक्षा गर्नुपर्ने बताउनुभएको हो।
अध्यक्ष नेपालले भन्नुभयो, “नेताले परिवर्तनको अभियान अगाडि बढाउन, भूमिका स्थापित गर्न जनताको आशा, भरोसाको केन्द्रको रूपमा, पुरानो रवैयाले हुँदैन। हामीमा रहेको कमी, कमजोरी के छन्, त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता छ। नयाँ चिन्तनका साथ हामीले हाम्रो विगतको समीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ।”
उहाँले निर्वाचनपछि बसेको पार्टीको बैठकमा पनि यसखाले विषयमा छलफल भएको उल्लेख गर्नुहुँदै पार्टीलाई नयाँ ढङ्गले लिएर जाने एवम् नयाँ क्रान्तिकारी भावना र बेग्लै पहिचान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
“अरू सबैभन्दा भिन्न पहिचान स्थापित गरेर इमानदार कम्युनिष्ट योद्धालाई हातेमालो गर्दै एउटै ठाउँमा एकताबद्ध बनाउँदै। त्यसकारण, पार्टी बनाएर मात्रै पुग्दैन कम्युनिष्ट आन्दोलनको विकार, विसङ्गति समीक्षा गर्नुपर्छ। सुधार गर्ने अठोट गर्नुपर्छ”, उहाँले बताउनुभयो।
आगामी दिनमा नयाँ आशा र उत्साह जागृत गर्दै अघि बढ्नुपर्ने भनाइ उहाँले राख्नुभयो।