रमेश विश्वकर्मा
गुल्मी, पुस २९ गते। गुल्मीमा शनिबार दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ। जिल्ला आईटिएफ तेक्वान्दो सङ्घ गुल्मीको आयोजनामा दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिताको आयोजना हुन लागेको हो।
शुक्रबार जिल्ला खेलकुद विकास समितिको कार्यालय, तम्घासमा पत्रकार सम्मेलन गरेर आईटिएफ तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराइएको हो।
यस पटक गुल्मी जिल्लामा डोजाङ्ग स्तरीय प्रतियोगिताको आयोजना गरिएको छ। यसमा जिल्लामा रहेका करिब नौ वटा डोजाङ्गबाट करिब २२० जना खेलाडीको सहभागिता रहने आईटिएफ तेक्वान्दो सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज पोखरेलले जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः स्वर्ण, रजत र कांस्य पदक प्राप्त गर्नेछन्। जसमा २० स्वर्ण, २० कांस्य र ४० रजत पदक वितरण गरिने छ। उत्कृष्ट महिला पुरुष खेलाडीलाई वेस्ट अवार्डसहित नगद रकम प्रदान गरिने छ।
प्रतियोगिता शनिबार बिहान सात बजेदेखि जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा हुनेछ।