काठमाडौं, पुस २९ गते। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एक पटक नेपाली उत्पादन प्रयोगको सुरुवात गर्न सरकारसँग माग गर्नुभएको छ। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासङ्घको ४२ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले सरकारी कार्यालयमा कर्मचारीले हप्ताको एक पटक नेपालमा उत्पादित पोशाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गर्नुभएको हो।
उहाँले मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरुले अनिवार्य रुपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभयो।
उहाँले आगामी दिनमा सरकारले विज्ञान र प्रविधिको अधिक प्रयोग गरेर घरेलु उद्योगको प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। उहाँले आफू बागमती प्रदेशको मुख्यमन्त्री हुँदा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई ३ महिने आवासीय तालिम दिने काम शुरु गरेको बताउनुभयो। उहाँले आगामी दिनमा सरकारले पाँच लाखलाई वार्षिक तालिम दिने गरी काम अघि बढाए सीपयुक्त नेपालीको देश बन्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘तपाईका क्याबिनेट बैठकमा कम्तीमा मन्त्रीले नेपाली उत्पादन लगाएर आउने व्यवस्था गर्नुहोस्। साथै हरेक आइतबार वा सोमबार, हप्ताको एक पटक नेपाली उत्पादनको प्रयोग गर्ने क्रम चलाउनुहोस्। बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई तीन महिने आवासीय तालिम दिन बागमती प्रदेश सरकारले १५ करोड छुट्याएर काम शुरु गरेको छ। यसले महत्त्वपूर्ण भूमिका खेल्छ। संघीय सरकारले पाँच लाखलाई वार्षिक तालिम दिने गरौँ। सीपयुक्त नेपालीको देश बनाऔँ।’
सांसद पाण्डेले प्रधानमन्त्री दाहाल देशकै बलियो प्रधानमन्त्री भएकाले राष्ट्रको सीप र कलाको लागि आवश्यक कामहरु पूरा गर्न आग्रह गर्नुभयो।