• ८ पुस २०८१, सोमबार

एकल महिलालाई दुहुनो गाई

blog

सर्लाही समाचारदाता

सर्लाही, पुस २९ गते । सर्लाहीको हरिपुर र नवलपुरमा श्रीमान्को निधन भएका पाँच जना अति विपन्न महिलालाई एक÷एकवटा गाई प्रदान गरिएको छ । 

नेपाल डेभलपमेन्ट सोसाइटीको आर्थिक अनुदानमा स्थानीय समाज विकास केन्द्र हजार बिघाले सहजीकरण गरी श्रीमान्को निधन भइसकेका र आर्थिक अवस्था कमजोर रहेका पाँच जना महिलालाई दुहुनो गाई प्रदान गरेको हो । 

हरिपुर नगरपालिका–५, मजुर्वाकी सायरा खातुन, जुखन नेशा, खैतुन खातुन, गुल्सन खातुन र लालबन्दी नगरपालिका–१, नवलपुरकी रश्मि कार्कीलाई गाई उपलब्ध गराइएको हो ।

मधेश प्रदेश सभाका सदस्य विमला अन्सारीबाट ती गाई महिलालाई प्रदान गरिएको स्थानीय समाज विकास केन्द्र हजार बिघाका सल्लाहकार टेकबहादुर थापा (अर्जुन)ले जानकारी दिनुभयो । 

महिलालाई जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले गाई प्रदान गरिएको थापाले बताउनुभएको छ । महिलाले गाईको दूध बेचेर जीविका चलाउने अपेक्षा गरिएको छ । 

नेपाल डेभलपमेन्ट सोसाइटीले विपन्न परिवारका लागि चापाकल गाड्ने, सिलाइकटाइ मेसिन प्रदान गर्ने, बाख्रा वितरण गर्ने, ठेला गाडा वितरण गर्नेलगायत सामाजिक काम गर्दै आइरहेको छ ।